वंशलोचन
झरीका प्रत्येक वूँदसंगै
बर्षिएका अमृतले
सिंचिएका घाँसहरु
वसुधालाई एकपटक फेरी
जवानी दिंदैछन्
सोचें
जंगलमा डढेलो लाग्दा
पुरै जंगल सखाप भएन
सखाप भएका थिए
यिनै घाँसहरु
घाँस
जो कहिल्यै मर्दैन
डढेलो पश्चात पनि
उम्रन्छ, फैलन्छ
ओइलाउँछ, सुक्छ र
पोलिए पश्चात
सदावहार अजम्बरी घाँसहरु
फेरी पलाउँछन्
भित्र कतै अन्तस्करणमा
अस्तित्व
नारी र घाँसको उस्तै लाग्छ
नारी र बाँसको उस्तै लाग्छ
नारी बाँस बाँस नारी
एक स्थिति सयौं बिडम्बना
एक आभास दशौं बिरोधाभाष
अचम्म
लाचारीले लेपिएकाहरु
नफुले बाँझो
फुले बोझ, अनिकालको त्रास
फत्तुर ओकल्ने गिदी भरिएका टाउकाहरु
यस्का टुप्पा झैं नुहिन्छन्
वंशलोचन जन्माउँदा
अस्तित्व हमेशा परिक्षित भएर
कुन्दन नियती भोग्छ
समय चक्र बारम्बार
परीक्षा लिन्छ
पोल्छ पिटछ
पिटछ पोल्छ
परीक्षा धैर्यको
या परीक्षा अस्तित्वको
तथापी
उ तयार छे सक्षम छे
समयलाई नै अस्तित्वमा जमाएर
वंशलोचनमा ढाल्न
त्यसैले दृढ संकल्पित नारी
शरीरलाई मसिदानी बनाएर
समयका पानाभरी
आफ्ना जवाफहरु छाप्छे
खुन पसीनाका मसीले
मस्तिष्कमा बिना कुनै अहं
मनमा बिना कुनै चिन्ता
समयको अगाडी
उत्तर पुस्तीका फाल्छे
श्रृष्टि डिम्ब नारी अस्तित्वमा छ
बिचरा समय
सूर्योदयको साथसाथै
नाजवाफ
प्रश्न भएरै मर्दछ
घाँस नारी नारी घाँस
क्रमेणः
मासिंदै गर्छ पलाउँदै गर्छ ।
July 11, 2012
July 11, 2012
No comments:
Post a Comment