Share Bottom

Saturday, August 31, 2013

मेरो मुट्ठि भित्र

मेरो मुट्ठि भित्र

तिमी सोच्दो हौ
मेरो मुट्ठि भित्र
के के न होला भनेर
तिमी गए देखि
नखोलेका यी मुट्ठिभित्र
फगत्
समयका हाँगाबाट
चोरी गरिएका केही पलहरू छन्
जुन अझै मेरो मुट्ठिमा कैद छन्
यिनैलाई
कहिले हेर्छु
कहिले सुम्सुमाउँछु
कहिले माया गर्छु
बिचरा हिजोका पलहरू
उड्न सक्दैनन्
कुँजो भएर
मेरो स्मृतिमा बाँचिरहेछन्
रहरका प्वाँख पलाउने आशामा

समय डरलाग्दो छ
समय कहाली लाग्दो छ
घामलाई छेलेर
उडिरहने समयको कालो छायाँ
अन्धकारका लागि काफि रहेछ
कोठाहरू अँध्यारा छन्
बाटोहरु अँध्यारा छन्
अड्ने र बढ्नेको दोसाँधमा
थुप्रै कुराहरू अल्झिरहेछन्
थुप्रै कुराहरू बल्झिरहेछन्
यस्तै यस्तैमा जेलिएर बेला
मैले झस्क्एिर
खोतले
आफ्नै अस्तित्वलाई
छामे
आफ्नै पहिचानलाई
चिन्न खोजे
आफ्नै अनुहारलाई
निर्दयी समयले
घरभरिका एेना फुटाए पनि
मान्छे
अनुहार बिहिन हुँदोरहेनछ
समयले
अनुहार बिगार्दो रहेनछ
म उस्तै रहेछु
म त्यस्तै रहेछ
मात्र
समय बदलिएछ ||

Tuesday, August 27, 2013

कविता - प्रश्न


कविता - प्रश्न

स्वागत छ सुस्वागत छ
तिम्रो आगमनमा
जलघडाहरुमा प्रेमामृत भरेर
दैलोमै तिमीलाई रोकेर
सेचन पनि गरुँला
स्नेहकका ज्योति फिँजाएर
तिम्रा पथहरु उज्यालो पार्दै
कतै भित्र सम्म लगुला
मिठो पिठो खुवाउला
र सुत्नको लागि
मखमली बाहुहरु फैलाउँला
तिम्रा आरामीमा खलल पर्न नदिन
म नागफणाँ फैलाइ बसुला
स्वागत छ सुस्वागत छ तिमीलाई
तर मेरा स्वागत स्वीकार्नु अघि
एउटा प्रश्नको उत्तर लिएर आउनु
के तिमी सुद्ध मानव अतिथि हौ ?

स्वागत छ सुस्वागत छ
तिम्रो आगमनमा
पूर्ण फक्रिदिनेछु
वासनाको लागि
हावा भरि मेरा पराग छर्नेछु
तृष्णाका लागि
कञ्चन जल बनिदिनेछु
स्पर्शका लागि
छोईने भइदिन्छु
मदान्ध नयनका कामातुर भावसँगै
मेरा कौमार्य न्यौछावर गरिदिनेछु
मेरा यौवनका पियुष छताछुल्ल पोखेर
तिम्रा अतृप्त प्यास मेटाउनेछु
मेरा अक्षत योनीमाथि
तिम्रो पूर्णधिकार हुनेछ
सम्भोगका लागि
पूर्णरुपेण समर्पित हुनेछु
स्वागत छ सुस्वागत छ तिमीलाई
तर मेरा समर्पणमा हेलिनु अघि
एउटा प्रश्नको उत्तर लिएर आउनु
के तिमी सुद्ध मानव प्रेमी हौ र ?

म एक युगमा फुल्ने फूल हुँ
म एक रातकी पूर्णशशी हुँ
म एक तिर्खा जल हुँ
म एक भोक भोजन हुँ
म एक झिल्को सत्य हुँ
म एक निमेषको केवल एक हुँ
निचोडमा
म एक जुनी मानिस हुँ
त्यसैले
स्वागत छ सुस्वागत छ तिमीलाई
म के हुँ बुझेपछि
मलाई आत्मसात गर्नु अघि
ममा विलीन हुनु अघि
प्रतिक्षित अतिथि
केवल एक प्रश्नको उत्तर लिएर आउनु
के तिमी कंचन आत्मा हौ ?

8-27-2013

Saturday, August 24, 2013

गजल,


चुल बुल भएँ म आज उस्को यादले सतायो
अंग अंग के के हुन्छ मिठो मादले सतायो


थोरै भए भुल्न हुन्थ्यो आँशु पुछी बिर्सिदिन्थेँ
मुटु भित्र उनि चल्ने पापी हदले सतायो


चुम्थेँ होला सुस्त सुस्त अंगालेर उनलाई
पोखिने  यो रहर कस्तो अगादले सतायो


सम्हालिन सक्छे कि त !आश गर्छे अझै समा
कस्तो प्यासी तीर चलायो बर्बादले सतायो      

गजल ....


गजल ....

झझल्को मै मख्ख पर्दै,नाचेकी छु भ्रमले
पुल्पुलाई सानो आशा ,साचेकी छु भ्रमले

छाती भित्र पीडा हुदा भित्र कोहि चल्यो की 
उनै हुन्की प्यारा भन्दै,हासेकी छु भ्रमले

कुनै दिन उस्को माया,पोल्टा भित्र पर्छ की
यही एउटा आशा बोकि,बाचेकी छु भ्रमले

कैले काहिँ होसै हुन्न थाहा छैन गर्छु के
चुरा भाच्दै उन्को माया,जाचेकी छु भ्रमले #

गजल


 पाउजु बाँधेर ....!

पाउजु बाँधेर 
 नाँच्छु तर छमछमी छैन
कस्तो परदेश हो यो कतै रमझमी छैन

अझै नग्न छे नारी अझै उस्तै रोएकी छे
अझै लाखौं छे सीता  द्रोपदीको कमि छैन

आगो देखिन्छ माथि धुँवा पनि बिछट्टै छ
ढुंगिन थाल्यो आँखा बर्सेर झर्न नमि छैन

आशा बिदेश गा छ रहर मर्छ कुमारी मै
मुर्दा जिलाइ फेरा बाँधिदिने लमि छैन  |

ठगी सानो बिवेचना !

बिपुल सिजापति व्दारा लिखित कथा ठगीमा पुरानो मान्यतालाई निरन्तरता दिदै बंशबृद्धिको लागि एक बिवाहिता स्त्रीले अपनाएको कु/सु/मार्गको चित्रण गरिएको छ । संक्षेपमा कथा यस प्रकार छ । सरोज अध्यात्मालाई एकतर्फि प्रेम गर्दछ र अध्यात्मा सरोजको प्रेमलाई बुझ्दाबुझ्दै पनि लत्याएर श्रृषभसंग विवाह गर्छिन र चार वर्षसम्म सन्तान सुखबाट बन्चित भएपछि सासूससुरा र पतिको पनि चाहना अनुसार कृतिम गर्भाधान गराउँने निर्णयमा पुग्छिन् । यसको लागि उनले सबैभन्दा उत्तमपुरुष सरोज नै देख्दछिन् र सरोजबाट छल व्दारा गर्भवति हुन्छिन् । यस कथामा अध्यात्माको सासूससुरालाई गौणरुपमा देखाईए तापनि उनीहरूलाई पारम्परिक बंशबृद्धि चाहने बिचारको बिम्बको रूपमा देखाईएको छ ।

कविता - फूल र संझना


कविता  फूल र संझना !
फूल र संझना 
सन्ध्या छाउँदै गरेको बेला
तलाउको छेउमा
पानीका उछालले
लहराउँदै ल्याएको एउटा फूल
हत्केलामा उठाएर राखें
जस्का पंखुडीहरु
तरोताजा नै थिए
मैले तिमीलाई दिएको फूलका जस्तै
तिमीले लिएको फूलका जस्तै

गजल


याद गर्दै बिते छन केही मिठा पलहरु
घरी घरी तड्पाउछन् निश्ठुरीका छलहरु

थाहा छ त्यो भमरा हो फूलसंग रमाउ'थ्यो
हाँगा बाटै हराएछन् कलिला ति फलहरु

आँशु धुँन्छु भन्दै थिएँ मिर्मिरे त्यो हुनु अघि
अलपत्र भए कति अन्जुलीमै जलहरु

जोस देख्थेँ अंगालेर उडाइलाने हो कि भनि
श्रावणमै सुक्दा रै'छन् खहरेका भलहरु

कविता :काठमाण्डौं के छ तँ मा यस्तो ?


काठमाण्डौं के छ तँ मा यस्तो ?


कंक्रिटका कोढ फुटेर
निस्किएका पिपहरु
बागमती र बिष्णुमतीमा
बग्न थालेको धेरै भयो
तर अझै पनि
करिडोरको चारआना जग्गा
मोहनी फुलाई रहेछ
अचम्म लाग्छ !
काठमाण्डौं
के छ तँ मा यस्तो ?


कविता >बिशेषण !


बिशेषण

आँखाभरि जिज्ञासा टाँसेर
अबोध नातनातीनाहरु
मसँग झुम्मिन्छन्
प्रश्नहरुको लर्को लगाउँछन्
केही प्रश्नका उत्तर दिन्छु
केही प्रश्नका उत्तर मसँग पनि हुँदैन
त्यतिखेर
कताकता भित्र पीडा हुन्छ
उनिहरुको प्रश्नलाई सम्बोधन गर्न नसक्दा
हठात्
म समयको जिम्मा लगाउँछु
र हेर्छु
ति मायालु अनुहारमा
जहाँ जान्ने उत्सुकता
यथावत् आँखामा तैरिरहेको हुन्छ

*************************

वरिपरि झुम्मिएर
अबोध नातीनातीनाहरु
मेरा अतित खोतल्छन
बालहठमा नुहेर
म हरेक साँझ
आफ्ना कथाहरु भन्छु
मेरा कथाहरुमा
कहिले हाँस्छन्
कहिले रमाउँछन्
केही कुरामा ओठ गोलो पार्छन्
केहि कुरामा आश्चर्य मान्छन्
र पनि टुङ्गिदैन
उनिहरुका अनन्त जिज्ञासा
त्यसैले घरिघरि आएर
मेरो भित्री अतित
कोट्याउँछन् खोतल्छन्
खोस्रन्छन् खन्छन्
र त्यतै कतै
आफ्ना भविष्य चिहाउन  खोज्छन्

************************

वरिपरि झुम्मिएका
अबोध नातीनातीनाहरुलाई
म माछा मार्दाको कथा सुनाउँछु
उनिहरु धैर्यता बटुल्छन्
म घोडा चढेको कथा सुनाउँछु
उनिहरु साहस थुपार्छन्
गाउँगाउँका नाम सुनाएर
म उनिहरुको पोल्टामा
एक टुक्रा देश हालिदिन्छु
बिभुतीका नाम जपाएर
देशप्रेमको मन्त्र फुकिदिन्छु
सगरमाथाको उँचाई भनिदिन्छु
आफ्नो अग्लाई नाप्न सकुन्
बुद्धको बाणी सुनाईदिन्छु
जीवनमा कहिल्यै हिंसक नबनुन्
म चाहन्छु
मेरा कथाका त्यान्द्रा त्यान्द्रा बटारेर
उनिहरुले लगाम बनाउँन्
समयलाई कजाउन्
म अह्राउँछु तिनीहरुलाई
उँचाईबाट टाढासम्म देखिन्छ
त्यसैले
मेरा अनुभवका ईटाहरुलाई तह पारेर
मेरो उँचाई भन्दा
एक अंगुल माथि चढेर
उचाईबाट भविष्य चिहाउन्
र थपुन्
आफ्नो नामको अगाडी
बिशेषण ।

कविता - पहिचान


पहिचान

कहिले काँही
आफ्नै अनुहार चिथोर्न मनलाग्छ
उस्ले नदेखेको म देखाउँन
सायद अनुहारको मुखौटा भित्र
अर्को कुनै "म" छ कि
या त
चिथोरेर फालेपछि
म भित्रको
अर्को "म" निस्कँदा
उस्ले चिन्ला कि !


म नङ्ग्रा तिखार्छु
आफ्नै अनुहार चिथोर्न
नङ्ग्रामा प्रण थुपार्छु
शङ्का त फेरी
उस्तै छ
चिथोरेर हेर्दा
भित्र कुनै "म" निस्किएन भने
या फेरी
निस्किएको अर्को "म" लाई पनि
उसको उपेक्षाले चिन्दैन कि !


मेरो एउटा अनुहार छ
अनुहार भित्र
अर्को अनुहार नहुन पनि सक्छ
अर्को अनुहार हुन पनि सक्छ
अनुहार नभए म हुन्न
अनुहार भए ?
अहो !
अनुहार भए फेरी कसलाई "म" भन्ने
पुरानो म र नयाँ "म" बिच
कुन चाही म बास्तविक "म" ?
दुई अनुहारको "म" बिच
अस्तित्वलाई लिएर युद्ध हुन सक्छ
युद्ध दुई म बिच
जिते पनि दुख्ने म
हारे पनि दुख्ने म
कठै !
मेरो चिनारी
तिमीसम्म पुग्नै पर्छ र ?
तिमीले मलाई चिन्नै पर्छ र ?
तिमीले चिन्दैमा मेरो बिस्तार हुँदैन
तिमीले न चिने पनि मेरो संकुचन हुँदैन
म किन चिथोरुँ आफ्नो अनुहार ?
भो ss
अब म
खोजिखोजि
तिमीले नचिनेका समय चिथोर्छु
तिमीले नबुझेका समय चिथोर्छु
आज
भए पनि नभए पनि
म भित्रको "म"
मैले यथावत राखेँ ||
December 18, 2012

कविता - एक बुँद पानी !


सम्झ त एक पटक
मेरो आगमनको क्षण
म एक बुँद पानी
हजारौ फूल बनेर
झरेको थिएँ
तिम्रो शिर माथि
सँगालेनौं सम्भालेनौं
बिवषतामा
झरें
अतृप्त हुँदै
र बगेँ
तिम्रा पाउ पखाल्दै
तिम्रो उदासिनतमा
नियती बदलिएर
एक पटक फेरी भएँ    
एक बुँद पानी


तिम्रो स्वीकार्यतामा
म अक्षुण रहन्थे
कोखबाट
अलंकारयुक्त चिनारी जन्मन्थे
अनि आँगनैभरि
हाम्रा सपनाहरु फुल्थे फल्थे
लटरम्म
हाम्रा दुई जोडी नानिहरुबिच
खुसी झुल्थे
तिमी
अधुरो सुखी
खुसी खोज्न भौंतारिरह्यौ
बिर्सेर सानो पाठ
खुसीमा सुख हुन्छ
सुखमा खुसी हुँदैन
मृगतृष्णका थकानमा
म देख्दैछु तिम्रा चाहनाका
कलेटी परेका ओठहरु
साँच्चै अहिले तिमीले बुझेमा
तिमीलाई जरुरी छ
सिर्फ म
एक बुँद पानी


सानो कुरा
तिमीले बुझिदिएको भए
तिम्रो तिर्खामा
मेरो प्यास मेटिनसक्थ्यो
तिम्रा शुष्क अबरुद्ध कण्ठलाई
चाहिएको थियो
केवल एक बुँद पानी
कठै !
अभिमानको बृक्षका जरा
मष्तिष्कका कुनाकुनामा पुगेर
बिवेक चुस्दछ
र खोक्रो ठाउँमा भरिदिन्छ
दम्भका निख्खर काला बादल
तिमीबाट टाढा
यही सोचेर बग्दैछु
अबको पालो
तिम्रा चक्षु खुल्नेछ
बादल बर्षिनेछ
अभिमानका बृक्षलाई
ज्ञानका आरीले काट्ने छ
अर्को चक्रमा
म फेरी
उमङ्ग बोकेर
हर्षित हर्षित
हजारौं फूल भएर झर्नेछु
त्यतिबेला स्वीकारेर अङ्गाल्नु
एक बुँद पानी  ||
December 14, 2012

कविता > बिजय हाँसो


कविता
बिजय हाँसो

कहिले कतै फुलेको फूल देख्दा
हामी फूलसँगै सापटि लिएर
फूलकै हाँसो हाँस्छौँ
तर फूल
उत्पतिसँगै
जन्मजात हाँस्छ
ओइलाएर झर्दा पनि
यसका हाँसो ओइलाउँदैन
फूलमा बिजय हाँसो
यथावत रहन्छ
बिजय युद्ध हैन
बिजय शस्त्रको परिक्षक पनि हैन
कोमल शस्त्रहीन फूल
युद्ध गर्दैन
त्यागको मसिहा फूल
सुगन्ध लिदैन
सुगन्ध दिन्छ
आफ्नो सार्थकतालाई
नैसर्गिक बिशिष्ठता बनाएर
बिजयी हुन्छ
त्यसैले ओइलाउँदा पनि
धर्मनिष्ठ फूल
बिजय हाँसो हाँस्छ

एक चिम्टि माटोको आश्रय
एक झुल्को घामको देन
साससँगै खैँचिएका नमी
र सानो संघर्ष
प्रयाप्त छ जीवन फुल्न
र यौवनमैँ
फूल चढिन्छ
फूल चढाईन्छ
तथापी
फूल हाँसेकै हुन्छ
बिना व्देष बिना राग
बिजय हाँसो
हो
फूल सँधै
बिजय हाँसो हाँस्छ
किन कि फूल
कुनै सिमा क्षेत्रभित्र बाँधिएर फुल्दैन
फूल कुनै सिद्धान्तका रङ्ग ओढ्दैन
फूल कुनै धर्म अधिनस्त डन्ठामा पलाउँदैन
फूल कुनै कोरा आदर्शका गीत गाउँदैन
फूल आफैमा एक धर्म हो
फूल आफैमा एक आस्था हो
फूल आफैमा निर्मल प्रार्थना हो
टिपिँदा
मस्तक जति उँचो हुन्छ
चढाउँदा त्यो त्यति नै नुहिन्छ
जहाँसुकै चढियोस्
फूल आफैमा मोक्ष हो
त्यसैले फूल
बलि दिईदा पनि
कामना प्राप्ती गराईदिन
बिजय हाँसो हाँस्छ । 
December 2, 2012 

कविता >एउटा कविता


एउटा कविता 

प्रिय सम्पादकज्यू
एउटा कविता पठाएकी छु
छापिदिनुहुन्छ कि ?

मेरो कवितामा देशभक्ति गान छैन
मेरो कवितामा वीरगाथा छैन
न त हाँकडाँक र जोशिला आव्हान छन्
मेरो कवितामा केवल
देश छोडेर आउँदा
फुकुमे चप्पलका तलुवाका प्वाकलमा
गाभिएर आएका
माटोको गन्ध छ

मेरो कवितामा प्रेमको सौन्दर्य बर्णन छैन
मिलनका हर्ष हाँसेका छैनन्
बिछोडका आँसुले भिजेका छैनन्
मेरो कवितामा
भुन्टेका बा को संम्झना छ
भुन्टेको अबोध अनुहार छ
बिदेशिँदाका बाध्यता छन्
असरल्ल छोडिएका घरव्यबहार छन्
वस्तुलाई दिन नपाएको कुँडो छ
मेलापात र आफन्तका हुकहुकिसँगै
वैरीका समेत
सानोतिनो सम्झना छ

मेरो कवितामा राम्रो घर छैन
चुहिएको खर छायो छाएनन् को सोधनी छ
सुन्दर भविष्यको कल्पना छैन
तीरो तिरे तिरेनन् को पुछनी छ
चोखो मीठो भन्दा पनि
छाक टरेको छ कि छैन को प्रश्न छ
परदेशमा
यस्तै यस्तै भोगिन्छ, यस्तै यस्तै कल्पिन्छ
यस्तै यस्तै लेखिन्छ
रस न बसको
छन्द न बन्दको
दुःखेसो पोखिएका
एउटा कविता पठाएकी छु
प्रिय सम्पादकज्यू
छापिदिनुहुन्छ कि ?

कविता > खोज !


कविता   खोज !

मान्छे आफै पनि हराउँदो रहेछ
आफै भित्र पनि हराउँदो रहेछ
आफैभित्रको
असिमित एकान्तमा
म डुबुल्की मार्छु
पच्छ्याउँदै
समयका डोबहरु
जहाँ तिमीले कुल्चेका ताजा चिन्ह छन्
जहाँ तिमीले बोलेका मीठा गुञ्जन छन्
तिमीबाट निस्कीएका
तिम्रै खालको सुवाषलाई
मेरा ईन्द्रियहरु
यहि असिमीत एकान्तमा खोज्दछन्
खोज्ने चेष्टामा मन हराउँछ
पाउने आशामा मन रमाउँछ
बिश्राम रहित प्रयत्नहरुले
आफैलाई आफैभित्र लुकाईदिन्छ
आफैलाई आफैभित्र हराईदिन्छ
मान्छे आफैमा पनि हराउँदो रहेछ


तिमी र म
केवल शव्द होईनौ
तिमी र मको संयोग हामी
हामीको बिस्तार हामीहरु
तिमी, म, हामी हामीहरु
केवल शव्द होईनन्
बिश्व हो ब्रम्हाण्ड हो
ब्रम्हाण्ड
जहाँ चेतना छ
चेतना यानी ज्ञान छ
ज्ञान यानी बिवेक छ
बिवेक छ र त मन छ
मनभित्र समाहित अनुभूती छ
अनुभूतीमा भावहरु छन्
भावहरु
अनश्वर
अनन्त सम्म बिस्तारीत
बिस्तारमा आबद्ध मस्तिष्क
मस्तिष्क त धरा हो
र धरा सँधै उर्वरा हुन्छ
कृयाशील हुन्छ
धराको बरदानमा प्राप्त कृयाशीलताले
सँधै तिमीलाई खोज्दछ
तिमी, म, हामी र हामीहरुमा
बिश्वमा ब्रम्हाण्डामा
यो खोजाईको नसामा
मान्छे आफैमा पनि हराउँदो रहेछ


भित्र केहि छ
भित्र कहिं कतै पक्कै केहि छ
डिम्ब या प्राणवायु
आत्मा या चेतना
अदृश्य व्दारा उत्पादित सादृश्य
नश्वर भित्र अनश्वरको वास
या
अनश्वरवाट संचालित नश्वर
महारौद्र ध्वनीको बिष्फोट पछि
अनन्त शान्ती र शुन्यतामा बिलीन हुने
यो भित्रको के हो
जड छ स्थिर छ
या
चलायमान छ तरंगीत छ
अव्यक्त अलौकिक अनुपम
सारतत्व
निर्गुण निराकार
बिशिष्ट अ/तत्व
आत्मा रुह सोल
नाम अनेकन तर सार एक
यसै भित्र खोज्दछु
सतहमा खोज्दछु
गहिराईमा खोज्दछु
भित्र भित्र झनै भित्र खोज्दछु
आफैलाई आफैभित्र लुकाई
आफैलाई आफैभित्र हराई
आफु नभएर खोज्दछु
आफु भएर खोज्दछु
भौंतारिदा
तिमी नै भएर खोज्दछु
खोजाईमा
मान्छे आफैमा पनि हराउँदो रहेछ  ||