Share Bottom

Saturday, August 24, 2013

ठगी सानो बिवेचना !

बिपुल सिजापति व्दारा लिखित कथा ठगीमा पुरानो मान्यतालाई निरन्तरता दिदै बंशबृद्धिको लागि एक बिवाहिता स्त्रीले अपनाएको कु/सु/मार्गको चित्रण गरिएको छ । संक्षेपमा कथा यस प्रकार छ । सरोज अध्यात्मालाई एकतर्फि प्रेम गर्दछ र अध्यात्मा सरोजको प्रेमलाई बुझ्दाबुझ्दै पनि लत्याएर श्रृषभसंग विवाह गर्छिन र चार वर्षसम्म सन्तान सुखबाट बन्चित भएपछि सासूससुरा र पतिको पनि चाहना अनुसार कृतिम गर्भाधान गराउँने निर्णयमा पुग्छिन् । यसको लागि उनले सबैभन्दा उत्तमपुरुष सरोज नै देख्दछिन् र सरोजबाट छल व्दारा गर्भवति हुन्छिन् । यस कथामा अध्यात्माको सासूससुरालाई गौणरुपमा देखाईए तापनि उनीहरूलाई पारम्परिक बंशबृद्धि चाहने बिचारको बिम्बको रूपमा देखाईएको छ ।
ऋषभलाई पनि आमाबाबुको वंशबृद्धिको इच्छा र आफ्नै पनि भित्री बच्चाको चाहना राख्ने पात्रको रूपमा देखाईएको छ । कथाकी मुख्य पात्र अध्यात्माको अन्य पुरुषको वीर्यबाट आमा बन्नुपर्ने अवस्था जुन साधारणतया कुनै पनि स्त्रीको लागि मान्य नहुने अवस्थाको मानसिक व्दन्दलाई छोटो तर असरदार रूपमा पेस गरिएको छ । बिवाहीत स्त्री सासूससुरा र पतिको इच्छामा हार्दछे र आफ्नो आत्माको स्वीकृति बिना परिवारको चाहनापूर्ति गर्न तयार हुन्छे र सरोजबाट गर्भवति भएर फर्कन्छे । कथामा आरम्भ, सङ्घर्ष विकास, चरम अवस्था, सङ्घर्ष ह्रास र उपसंहारलाई अत्यन्तै राम्रो ढङ्गबाट कथानकमा प्रस्तुत गरिएको छ । झट्ट हेर्दा कथामा सरोज मात्र ठगिएकोले बन्द अन्त्य (closed ending) देखिएता पनि कथा खुल्ला अन्त्यमा (open ending) टुडि.्गएको छ र यो नै कथाकारको कथानकको विशेषता हो । यस कथामा कथाका सबै पात्र (डक्टर बाहेक) कुनै न कुनै रूपमा ठगिएका छन् । अध्यात्मा पति हुँदाहुँदै पनि अन्य पुरुषबाट आमा बन्न बाध्य भएकी छे । तसर्थ ऊ आफ्नै पतिबाट आमा हुने सौभाग्यबाट ठगिएकी छे । ऋषभ बच्चाको पिता भनिए तापनि पिता हुने अवसरबाट ठगिएको छ । यसैगरि अध्यात्माका सासू  ससुरा पनि यहाँ ठगिएका छन् । सरोज व्यावहारिक रूपमा भन्दा पनि भावनात्मक रूपमा ठगिएको छ । आफ्नै वीर्यबाट जन्मेको बच्चालाई ऊ आफ्नो बच्चा भन्न सक्दैन । तसर्थ भौतिक रूपमा भन्दा पनि भावनात्मक रूपमा हरेक पात्र ठगिएको छ ।यसका सम्बाद र घटनाक्रमले पाठकमा उत्सुकता र कौतुहलता कायम राख्न सफल देखिन्छ । मुख्य पात्रका मानसिक अवस्थालाई पनि सूक्ष्म रूपमा केलाईएको छ र कथाकारले बिल्कुलै नयाँ विषयमा कथा लेख्नुभएको छ र ठगी शीर्षकलाई पूर्णता पनि प्रदान गर्नुुभएको छ । यसैले यस कथालाई एउटा राम्रो आधुनिक कथा मान्न सकिन्छ ।मेरो सानो प्रयास मात्र हो कथा  बिबेचना गर्ने ...धन्यवाद | https://www.facebook.com/notes/bipul-sijapati/%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%A0%E0%A4%97%E0%A5%80/147820168643825

No comments: