Share Bottom

Thursday, October 31, 2013

कविता – आनन्द

कविता – आनन्द

के कहिल्यै सोचेका छौँ ?
अँध्यारो र उज्यालो
समान रूपमा
एकले अर्कालाई लखेटेझैँ गर्छन्
लखेटा लेखेट प्राप्तिको लागि
या तछाड्मछाड र प्रतिव्दन्दिता ?
एकको बिलुप्तीमा
अर्कोले साम्राज्य चलाउन ?
दृश्यमा त दुवै
घडी पलाका सीमित घेराका
कालचक्रमा नै बाँधिएका छन्
फेरी यो उफान किन ?
प्रतिव्दन्दिता के का लागि ?

समय पनि अक्षुंण छैन
तीन टुक्रा भाँचिएको छ
विगत गत आगत भएर
लम्ब्याउँदो छ आयु
फैलिदो छ श्रृष्टि देखि अनन्त
कहाँ छ आनन्दित समय !
जन्मदेखि भौँतारिरहेछ
अक्षुण अस्तित्वको खोजमा
आनन्दको खोजमा
नियती र परिणती
हाम्रा पनि त्यस्तै होइनन् र
उदयचलमा थालिएको यात्रा
अस्तयचलमा बिना प्राप्ति टुँगिन्छ
भ्रान्ति, खोज, भौँतराई
आफ्नै नाभिमा विना धरीत
कस्तुरी सङ्घर्ष

आँखामा लालसाको पट्टि बाँधेर
कलह क्लेषको मार्गमा पदचाप छोड्दै
जीवनगति घुमिरहेछ
दोभानको पानीमा पर्ने चक्र समान
आफैले आफैलाई निल्दै
चेतनाले
हरेक अनुहारमा दाग देख्यो
हरेक चरित्र कलुषित देख्यो
हरेकलाई दागी पायो
अन्धकूपमा सल्बलाउँदै
आनन्दको खोजको गर्‍यो
जेहनमा कहिल्यै पनि
कसैमा पनि कहिँकतै पलाएन
मासा भर तौलको श्रद्धा
कसरी पलाउँथ्यो !
अन्धकार त दिशाहिनताको जननी हो
रैदास जुत्ता सिउँथे
पेसा थियो उनको
रोटि पाउँथे
त्यसैले श्रद्धा गर्दथे
श्रद्धाको चरम गुञ्जनबाट
सन्तोष अवतरित हुन्छ
उद्भवित् सन्तोष
आनन्दका लाखौँ व्दार खोल्छ
मेरो मान्छौ भने
अन्धकारको कोखमा प्रहार गर
रोक दिशाहिनताका कौरव जन्म
बाल श्रद्धाले एक दीप
लेउ असीम आनन्द
सश्रमको आनन्द
मीठो हुन्छ

दीपावली को शुभकामना

Thursday, October 17, 2013

कविता - मेरा कविता

कविता - मेरा कविता

हत्या पाप हो भने
निसंकोच
मैले निक्कै हत्या गरेको छु
आफ्नै डिम्बमा छुरा धसेको छु
नजन्मदै अवोधहरुका
घाँटी निमोठेको छु
अंगअंगहरु निर्ममतापूर्वक
उखेलेर फालेको छु
तिमीसम्म आउनु अगाडी
तिम्रा अगाडी उभ्याउनु अगाडी
स्वस्थताको जाँच गर्नुभन्दा
सामथ्र्यलाई हेरियो
सोचलाई गुनियो
मुटुलाई छामियो
यसबाट उठने सुगन्धलाई तौलियो
असरबाट निस्कने उच्छवासलाई सुनियो
त्यसैले
बाहिरी अङ्ग सुकोमल देखिए पनि
भित्र आगो बोकेर उभिए
तिम्रा अगाडी
मेरा कविताहरू

ती देखिँदा मूक थिए
तर भित्र आव्हान थियो
ती हेरिँदा दृष्यहिन थिए
तर भित्र चलचित्र थियो
ती सुनिदा बहिरा थिए
तर भित्र दुन्दुभि थियो
ती छाम्दा अचल थिए
तर भित्र ज्वारभाटा थियो
ती हेर्दा मुँढ थिए
तर भित्र गीता थियो
आमा हुँ
हजारौँ अधिग्रो जाँदा
मर्म त हुन्छ नै
छाती त चिरिन्छ नै
तर म रोइनँ
युग हाँक्ने
एक श्रृष्टिको चाहनामा
छाँटिछाँटि उभ्याए
तिम्रा अगाडी
मेरा कविता

मेरा कविता
शब्दका पहाड हुन्
फोडनै पर्छ
मेरा कविता
शब्दका पहाड पनि होइनन्
फलाँग्नै नसक्ने
मेरा कविता तरल छ पानीको जस्तै
त्यसैले जीवन छ
मेरा कविता तरल छ पारो जस्तै
त्यसैले विष छ
मेरा कविता सुकोमल छ फूल जस्तै
त्यसैले दोस्ताना छ
मेरा कविता सुकोमल छ फूल जस्तै
त्यसैले धार छ
तिम्रा निधारमा उम्रिएका
उदेकका लामालामा रेखाहरु
आँखामा छाएका
संकोचका बादलहरु
मस्तिष्कमा रुमल्लिएका
अनिश्चितताका कुहिरोहरु
मेरा कविता ग्रहणका
आधार होइनन्
श्रृष्टि गुणदोष दुवै लिएर जन्मन्छ
उपभोग या उपयोग
पहिचान र निष्कर्ष
प्रापकको विवेक हो
आज
कविता परीक्षा दिँदै पनि छ
कविता परीक्षा लिँदै पनि छ
समयलाई निर्णायक बनाएर
उभिएका छन्
तिम्रा अगाडी
मेरा कविता