Share Bottom

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Friday, November 16, 2018

कविता - गुदी

 थाहा छैन
केही नाता सम्बन्धमा
मैलै ताल्चा लगाउन भुलेँ या
ढोका खुल्लै छाेडेर अाएँ
फर्किएर हेरेकाे भए सायद
हेक्का हुन्थ्याे हाेला
तर त्यतिबेला
समय अाफैमा बग्दै थियाे आफ्नै गतिमा

भित्तामा केही तस्वीरहरू छन्
फ्रेममा कैदी भएर थुनिएका
धमिराले खाएका ती तस्वीरहरू
बर्षाैँ ढुसी किराका अाहार बनेका छन्
केही धमिला अनुहार त्यहाँ चिहाउँँदै छन्
अाधाअधुरा फिक्काफिक्का अनुहारहरू
जाे किस्ता किस्तामा जिन्दगी बाँचेका छन्
किस्तामा हारेका अनुहारहरू
कहिल्यै साबुत रहँदैनन्

भित्र खाेक्राे जीवनमा
कतै केही सल्बलाई रहेछ
रगरगाईरहेछ
मानाैं
धमिरा खाेक्राे काठभित्र भाेकाे छ
भाेक
सबैभन्दा ठूलाे अभिशाप हाे जिन्दगीकाे
भाेकले
कहिलेकाँही अाफ्नै अस्तित्व खाइदिन्छ
शून्य बनाइदिन्छ,खाेक्राे बनाई दिन्छ भित्र
तब त चर्किएकाे भित्तामा
कुनै फाेटाे टाँस्न
हम्मेहम्मे पर्छ
किल्ला अड्याउन पनि
गुदी चाहिन्छ
जुन कहिँकतै भित्र बिल्कुल छैन ।

Wednesday, October 25, 2017

कविता -- प्रीतम रेखा र प्रेम



काेठाकाे बीचाैँबीच
माैन एसट्रे छ 
एसट्रेमा अस्तित्व गुमाएकाे ठुटा चुराेटहरू छन् 
तिमीले उडाएर गएकाे धुँवा छ
तिम्राे गन्ध छ
मेराे मन
रङबङ्गिएकाे धुँवा बीचमा पनि
तिम्राे गन्ध सुँघ्न लालायित छन्
मेरा अाैँला 
निभेका ठुटा उठाउन सकसक छन्
मेरा दुई अाेंठ
ठुटालाई बीचमा च्याप्न उत्सुक छन्
म 
उठाउँछु ठुटा एसट्रेबाट च्याप्छु दुई अाेंठ बीच
र 
महशुश गर्छु तिम्राे चुम्बन
डुब्छु
प्रेमकाे सराेवरमा


तिमी धुँवा
सक्दिन उडेकाे राेक्न
र त भर्छु फाेक्साेभरि
मिसाउँछु अाफैलाई त्यहाँ
र बन्छु धुँवा धुँवा
मलाई तिमीसँगै मिसिएर 
यसरी नै बिलाउने मन छ ।


ख्वाहिश तिमी ठुटाे चुराेट र एसट्रेकाे छ
ख्वाहिश ठुटाे चुराेट मार्फत चुम्बनकाे छ


त्याे चुपचाप राेकिएकाे समय
त्याे जड भएकाे पला
त्याे जमे जमेझैँ सास
त्याे राेकिए राेकिएझैँ धडकन
त्याे तिमी चुपचाप मेराे सामुन्ने अाउनु
त्याे देखेर नि नदेखेझैँ गर्नु
त्याे फर्केर नहेर्नु रत, हेर्ने अाकांक्षा गर्नु
त्याे अाफैमा पिल्सिएर एक पल जिउनु
त्याे अाफैमा जिउदा नि एक पल मर्नु
त्याे एक दर्शनमा मेराे सबथाेक लुटिनु
त्याे गुनासाे चित्तदुखाइ मेरा अात्मैबाट मेटिनु
त्याे बन्द अाेंठमा राेइरहेकाे माया लुक्नु
त्याे नबाेलिएका शब्द मेराे कानमा गुञ्जनु 
त्याे प्रलय थियाे त्याे प्रलय थियाे


ख्वाहिश
अझै थुप्रै अाकस्मिकताकाे छ
अझै थुप्रै प्रलयकाे छ ||

( फोटो साभार गूगल )

Monday, September 11, 2017

कविता - म शब्दसँग डराउँछु


म शब्दसँग डराउँछु 




तिमी प्रेम भन या घृणा
दुवै शब्द नै हुन्
एक घाम त
अर्काे त्यही घामले जन्माउनेे छाया

जब अाेंठका पातला चेपबाट
तप्किन्छन् शब्द
तब म खाेज्दछु यसकाे मूल
मस्तिष्कका मिहिन काेशिकाबाट छानिएर
अन्तरालबाट निस्किएका यी बाफ
निस्किएपछि किन
कहिले फूल बन्छ कहिले लावा !
प्रेषक र प्रापककाे बीच
कुन रसायन छ ? कुन भाइरस छ ?
जसले शाब्दिक अर्थ र तात्त्विक अर्थ गाेलमटाेल गर्छ !


कविता लेख्दै गर्दा
डर लाग्छ मलाई शब्द देखेर
सशंकित हुन्छु लेख्दालेख्दै
उत्प्रेरक अलङ्कारहरूमा सजाएर
अर्थ भर्न खाेजेकाे मेराे शब्दले
उत्तेजककाे कालाे बुर्का लगाएर कतै बिद्राेह त गर्दैनन् ?
साेह्रश्रृङ्गारमा लिपपाेत गरेर सुन्दर बनाएकाे शब्द
कतै सुन्दरिलेझैँ विप्लब त मच्चाउँदैनन् ?


जन्मपछि क्षर हुँदैनन्
मासिदैनन् अक्षरहरू
सत्य बन्छन् साक्षी प्रमाण बस्छन्
ईन्द्रेणाीमा घुलिएका हरेक रङ्ग स्पष्ट देखाउँछन् अक्षर
मेराे शब्दकाे प्रेम चिनाउँछ
मेराे शब्दकाे घृणा चिनाउँछ
मलाई खाँट्टी "म" चिनाउँछ
शब्द प्रेम पनि शब्द घृणा पनि
त्यसैले कवितामा
म सधैँ शब्दसँगै हराउँछु पनि
म सधैँ शब्दसँग डराउँछु पनि  ||


{कवि   TP Abhinawभन्नु हुन्छ शब्द हि ब्रह्म है-उपनिषद | कविता एकदमै सुन्दर छ, डर शब्दसँग हो, यात्रा शब्द हुँदै निशब्द तिरको हो |}

Monday, October 24, 2016

कविता -- तृप्तीको गीत


पण्डितजी तिमी गोरसमा डुबुल्कि मारेर मालपुवाको मिष्ठान्न भोजनले तृप्त ईश्वर सम्झाउने मन्त्र पढाउन खोज्छौ म पाप्रा उप्किने सुखा रोटिमा केवल जीवन बाँचे सूत्र खोज्छु मौलवी साहब तिमी बकर इदको कबाब परौठामा बेरेर डकारे पश्चात् अल्लाहको गुनगानमा आयात पढ्न भन्छौ म मांस विहिन आफ्ना करंगहरुमा केवल बाँच्ने उपक्रम गरी रहन्छु डियर पास्चर तिमी चौरासी व्यञ्जन र वाइन सहितको रात्रीभोज निमिट्यान्न पारेर सबैको सुखका लागि कुनै भर्स पढेर आमेन भन्छौ म रित्ता थालहरुमा पानी भरेर केवल भोकको आगो मेटाउन खोज्छु म भोकले रन्थनिएको छु लर्बरिएको छु ईश्वर अल्लाह र जिजसले कहिल्यै मेरो पेटाग्नी शान्त पार्न कुनै मन्त्र पढेनन् कुनै आयात भनेनन् कुनै भर्स सम्झाएनन् त्यसो भएको भए म चिर्ने थिएँ आफ्नै जिब्रो चार भागमा र गाउँने थिएँ तिमीले भन्दा चर्का स्वरमा हजारौँ पटक ईश्वरको बन्दना हो एक पटक आऊ पार शान्त मेरा क्षुधा र सुन तृप्तीको गीत तिमीले गाउने भजन भन्दा त्यो अवश्य मीठो गुञ्जिने छ अवश्य अलौकिक लाग्ने छ ||

Monday, July 18, 2016

कविता -- म मृत सागरमा माछा मार्दै छु ।



पीडा त्यहाँ र यहाँ उस्तै उस्तै छ तिमीले जस्तै मैले पनि खपेको छु तिमीले त्यहाँ सुस्केरा हाल्दा यहाँ खेरमोनको* डाँडोमा लछप्पै हिउँ पर्छ तलसम्म चिसो बतास दौडन्छ मुटु कम्पन गर्ने गरी
मान्छे न हुँ तातो तिमीलाई जस्तै मलाई पनि चाहिन्छ तिमीबाट गुज्रिएपछि मात्र घाम यहाँको भित्तामा लाग्छ त्यसैले म यहाँ बेतलेखेम पुगेर घामले तताएको कोटेलको भित्ता छोइदिन्छु
हिजैमात्र हाइफा गार्डेनमा दुई फूलहरू हावामा हल्लिएर कानेखुसी गर्दै थिए तिमीले सम्झ्यौ कि मेरो कुरा गर्दै हाँस्यौ कि हो हाँस्नु पर्छ पीडालाई जिस्काएर जीवन त्यहाँ जस्तै यहाँ पनि कठिन छ म पनि यहाँ मृत सागरमा माछा मार्दै छु ।

Thursday, June 16, 2016

कविता - बाका औंला



यी मिर्मिरे हुन्
या 
मेरा पलक फर्फराएका ?
यो सूर्य हो
या
मेरो गति बढेको ?
यो समय हो 
या मेरो दिनचर्या ?
उषाको हाराहारी 
म पनि व्युँतन्छु
सँगैको रविसँग
प्रतिस्पर्धा
आज पनि भएकै छ
 
थाकेको छैन
 
हारेको छैन

लड्दै छु
म भिड्दै छु
बिश्रााममा 
पूर्णकदका दर्पण
प्रतिबिम्बित गर्छन्
मेरो उँचाई
मेरो सफलता
मेरो हिम्मत
तर
कुनामा
सल्वलाएको देख्छु
थाकेको लर्खराएको
एक्लो 
सहाराको लागि
छट्पटाएको 
छहारी हीन
सुशुप्त छाँया

आत्तिएर
सहाराका लागि 
हात फैलाउँछु
अगाडि तेर्सिन्छन्
बा का औंला ....||

Thursday, December 31, 2015

कविता -अष्टमान



     अष्टमान
    सुन्दर छैन
    अनुहार ...
    काठमाडौंका सडक जस्ता छन्
    थुप्रै खाल्डाखुल्डी परेका
    र पनि
    ऊ अनुहारमा वसन्त बोक्छ
    ओठमा फूल फुलाउँछ
    माटोपानीले फुटेका हातहरु
    निधारसम्म उठाएर भान्छ
    "तारेमाम "
    र ङिच्च हाँसिदिन्छ
    सुन्दरताको परिभाषा च्यात्दै
    __________________

    बुसर्ट माथि मैलो इष्टकोट
    शिरमा थेप्चिएको ढाका टोपी
    कानमा चेपिएको गुन स्वाँ
    निधारमा एक धर्को रातो टिका
    मनमा आस्था
    पत्थरमा श्रद्धा
    अष्टमान
    एकाबिहानै
    भेटे जतिलाई आँखा चिम्लेर
    भक्तिले हात उठाएर भनिदिन्छ
    "भगवान् सर्न"
    र पुजिदिन्छ
    जगतमय ईश्वर देख्दै
    ________________
    खोला बगिरहन्छ
    अष्टमान हिँडिरहन्छ
    सूर्य उदाइरहन्छ
    अष्टमान चम्किरहन्छ
    फूल फुलिरहन्छ
    अष्टमान मुस्कुराइरहन्छ
    अष्टमान सरल प्रकृति
    अष्टमान हार्दिक सदभाव
    अष्टमान आनन्दमय प्रेम
    अष्टमान विसुद्ध मानव
    अष्टमान
    सधैँ सधैँ नयाँ वर्ष
    सधैँ सधैँ नयाँ दिन ...|

    {*गुन स्वाँ -गुनकेसरी फुल}

Wednesday, December 2, 2015

कविता -- म नारी हुँ


म नारी तिमी पुरुष उही श्रृष्टिका रचना तात्विक भिन्नता छैन केही सोचका उपजहरु हामी बीच बलिया पर्खाल भएका छन् त्यसैले आऊ बस अगाडि हामी बीचको अस्पष्टता हटाऔं सौन्दर्य कहाँ सीमामा बाँधिन्छन् सुगन्ध कहाँ कैद हुन सक्छन् समयको विस्तार कहाँ रोकिन्छन् म सागर हुँ असीमित चौडा फैलावट पानी पानी सिर्फ पानी एक छेउबाट अर्को छेउ पुगेर तिमी मेरा चौडाइलाई सङकुचित परिभाषित गरिदिन खोज्छौ लघुताभाष त मेरो मृत्यु हो ! आऊ, आउँदा हत्केलामा कर्मका ठेला पारेर तिमी श्रमका पसिना मग्मगाएर आऊ सम्मानित पुरुषार्थ बनेर आऊ आस्था विश्वासको धरोहर बनेर आऊ तिम्रो आगमनमा सम्मानले सहर्ष झुकुन यी नयन आतुरिउन मेरा अभिलाषा हतारिउन मेरा उत्कण्ठा समर्पिउन मेरा अस्तित्व एकाकार भएर असीम तृप्तीका लागि, मोक्षका लागि विभेद यहीँ छ तिमी मात्र करणी चाहन्छौ म समभोग तिमी केवल तृप्ति चाहन्छौ म मोक्ष क्षणिक सहवासका लागि कसरी बिर्सुँ आफ्नो अस्तित्व म शक्ति हुँ म श्रृष्टि हुँ म नारी हुँ ||

Friday, October 9, 2015

कविता -- कालो ख्याक

गानो गोला पेलेकै हो
वायु विकार झेलेकै हो
कर्करी आङअठिङ्गर दुख्दा पनि
कुप्राएर ढाड झुक्दा पनि
करेसामै बसेर किन तर्साउँछ
कालो ख्याक !


तोरी भन्दै आलस मिसाइ
मरिच भन्दै मेवाको बियाँ पिसाइ
चौघेरामा पस्नेलाई
चिसोमा बस्नेलाई
बिन्तिभाउ बिसाउँदा पनि
करेसामै बसेर किन तातो हावा फुक्छ
कालो ख्याक !


पहिले साँधबारको ख्याल उति भएन
पछि साँधबार लगाउने हुति भएन
कान्ला खोस्रेर यताको साँध मिच्छ
अन्नबाली बन्दुक देखाएर घिच्छ
रातो पँहेलो अक्षता मन्छाउँदा पनि
करेसामै बसेर किन लागुभागु थुक्छ
कालो ख्याक ! 


सुन्नेले यता झरेनन्
जान्नेले केही गरेनन्
खुँडा पारेर धारीदार
लगाउने पो हो  कि काँडेतार 
के गरेर भगाउने हो करेसामा मुन्टिएको  
कालो ख्याक ! 

Thursday, October 1, 2015

कविता -- टुकि -

नेपाल भाषामा अनुवादित समा श्रीको "टुकी"कविता लहना वाःपौ मा |

कविता -- टुकि -

सानोमा
भुईँमा किताब हुन्थ्यो
किताब अगाडि टुकि हुन्थ्यो
सलेदोको लप्का लर्बराउँदा
आमाका आँखा प्रहरी हुन्थे
मद्धिम रोशनी छादेर
टुकि
धुँवा ओकलि रहन्थ्यो
अक्षरहरु
कहिले प्रष्ट कहिले धमिला हुन्थे
नानी बिझाउँदा म आँखा मिच्दै
आमाको अनुहार हेर्थेँ
समय धमिलो भएपनि
आमाको अनुहार उज्यालो हुन्थ्यो
अहिले
भित्तामा मैले पुरुषार्थ बोकेको फोटो छ
फोटोमा अनुहार उज्यालो छ
त्यस्तै उज्यालो
जस्तो सानोमा
आमाको अनुहार हुने गर्दथ्यो
अचेल
कोठामा टुकि बालनु पर्दैन
कालो धुँवा नाथ्रीमा भर्नुपर्दैन
नानी बिझाउँदैन आँखा मिच्नु पर्दैन
प्रशस्त उज्यालो छ कोठामा
अचेल
हरेक मसान्तमा
महिनाभरिको कमाइ
आमाको हातमा राखिदिएर
उज्यालोमा आँखा हँसाएर
जब आमाको अनुहार हेर्छु
मुहारभरि ज्योति मात्र देख्छु
ज्योति सन्तुष्टिको
ज्योति निश्चिन्तताको
सन्दुकमा अझै पनि
जतनसाथ सुरक्षित छ
हाम्रो पुरानो टुकि |
समाश्री
 — 

Thursday, August 13, 2015

महाभूकम्प विशेषाङ्कको रूपमा शब्दाङ्कुरको साउन अङ्क २०७२ {१६६ }मा प्रकाशित
कविता
"आमाको पुकार "


दुई
हात जोडेर घुँडा धसी

आँखा चिम्लेर मैले ध्यानमा
जब ईश्वर सम्झन खोजेँ
त्यहाँ कुनै आकृति झुल्किएन
त्यहाँ कुनै बिम्ब देखिएनन्
देखिए केवल
मेरा शिशुहरुका अबोध अधरहरु
मेरा शिशुका निश्छल आँखाहरू
यिनैको रक्षार्थ
घण्टौं बसिरहे
उही मुद्रामा

यहाँ यो हृदयमा के सल्केको
आगो या पिर ?
दुवैको जलन उस्तै उस्तै
भक्ष अभक्ष नभन्ने आगो
कोमल कठोर हृदय नछुट्याउने पिर
रातोदिन सताइ रहन्छ
त्यहाँ भन्दा बढी कम्प
हृदयमा गइरहेको
हतासी, उदासी, असमर्थता
हार मान्नलाई उत्प्रेरित गर्छन्
फेरि काँपेर आँखा चिम्लन्छु
आशा आएर कानमा फुस्फुसाइदिन्छ
धैर्य राख धैर्य राख

छैन
दूर्वल छैन
थाहा
आत्महत्या
अस्थाइ समस्याको
स्थाई समाधान मात्र हो
भित्रकोे दूर्वलताको उपचार
भित्रै
आफूभित्रको शक्तिमा विश्वास
करुणाको कुनै भाषा छैन
करुणाको कुनै शब्द छैन
करुणा बधिर सुन्न सक्छ
करुणा दृष्टिविहिन देख्न सक्छ
तेरो अस्तित्व सहर्ष स्वीकार
तँ देख्न सक्छस् तँ सुन्न सक्छस्
आमाको उपासना आमाको पुकार
हे भगवान् मलाई धैर्य दे
हे भगवान् धैर्य अहिल्यै दे   ||