Share Bottom

Friday, October 9, 2015

कविता -- कालो ख्याक

गानो गोला पेलेकै हो
वायु विकार झेलेकै हो
कर्करी आङअठिङ्गर दुख्दा पनि
कुप्राएर ढाड झुक्दा पनि
करेसामै बसेर किन तर्साउँछ
कालो ख्याक !


तोरी भन्दै आलस मिसाइ
मरिच भन्दै मेवाको बियाँ पिसाइ
चौघेरामा पस्नेलाई
चिसोमा बस्नेलाई
बिन्तिभाउ बिसाउँदा पनि
करेसामै बसेर किन तातो हावा फुक्छ
कालो ख्याक !


पहिले साँधबारको ख्याल उति भएन
पछि साँधबार लगाउने हुति भएन
कान्ला खोस्रेर यताको साँध मिच्छ
अन्नबाली बन्दुक देखाएर घिच्छ
रातो पँहेलो अक्षता मन्छाउँदा पनि
करेसामै बसेर किन लागुभागु थुक्छ
कालो ख्याक ! 


सुन्नेले यता झरेनन्
जान्नेले केही गरेनन्
खुँडा पारेर धारीदार
लगाउने पो हो  कि काँडेतार 
के गरेर भगाउने हो करेसामा मुन्टिएको  
कालो ख्याक ! 

No comments: