Share Bottom

Wednesday, September 25, 2013

कविता >एक दिन


  1. एक दिन
    हामी त्यहाँ उभिनेछौं
    जहाँ टेक्न हामीले
    कहिल्यै मानेका थिएनौं
    त्यतिबेला
    हामी माटोसँग लज्जित हुनेछौं
    तर माटो हाँसिहँसि
    हामीलाई आत्मसात गर्नेछ
    सम्पूर्ण माटोले नुहाएका हामी
    माटो मग्मगाऊने छौँ...
    खुसीमा हर्षासुँ झर्नेछन्
    सिंचित केही फूलका बिउले
    जरा हाल्नेछन्

    एक दिन
    हामी त्यही फूल हुनेछौं
    जसका सौन्दर्य लत्याएर
    सुगन्धमा नाक थुनेका थियौ
    त्यतिवेला
    हामी फूल अघि
    शिर झुकाउनेछौं
    तर फूलहरू मुस्कुराएर
    हामीलाई पराग छर्कनेछन्
    पल्लवीत हामी
    हावमा लहराउने छौँ
    अनन्त हाँगाका कापहरुबाट
    नयाँ दिन उदाउने छ
    नयाँ फूल फूल्नेछ

    एक दिन
    फडके मारेर गएको साँघुबाट
    परिचित हातहरू
    अञ्जुलीमा पानी उबाएर
    हाम्रा जरामा हाल्नेछन्
    पहेँलिएका पात टिप्नेछन्
    झुसिल्किरा र लाई झार्नेछन्
    आँखाभरि फुलेका फूलहरू टिप्नेछन्
    एक एक उनेर
    माला बनाउनेछन्
    उनिएका हामी
    गाँसिएका हामी
    बल्ल हाँस्न सिक्नेछौ
    एक दिन ||

Friday, September 20, 2013

कविता >तिम्रो याद


 संझनाको  छारोले आँखा बिझाउँदा
धमिलिएका आँखाहरुले देखें
 चुपचाप
भुईमा संगै टाँसिएका एक जोडी छाँया
 सर्दै सर्दै गएको
 माथी घाम प्रखरै थियो
 अझै मैले छुट्टिनुमा
 बेलाबेलामा छेलिने
 घाम दोषी देखें
 र
फेरी सल्वलाउन थाले तिम्रा यादहरु
 उसो त यादहरु क्याक्टस झैं हुन्छन्
 काँडेदार
 उत्पत्तिमै बिष बोकेर जन्मेका
 र
 हजारौं दंश सहेर मनले सुम्सुमाउन माग्छ
 केवल तिम्रो याद
 तिमी  मात्र तिमी
 यो कुमारी मनमा
 यसरी नै फूलेका छौ शुवाषित
 मेरो यौवन
तिम्रो यादको परागले भरिएको छ ।
 तिम्रो यादको मात
 हर घडी बढिरहन्छ
 मेरो मन मस्तिष्क अग्लिँदै
 कल्पनालार्इ तरङ्गीत पार्दै
 आवेगमा आँखा चिम्लन्छु
 मलाई गर्लम्म अंगालो हाल्छ
 तिम्रो याद
तिम्रो याद कतै आगो झैं
 तुषारीत मनले तापिरहन्छु
 तिम्रो याद कैले जुन झैं
मेरा औश्याहा आँखाहरुमा
 भरी रहन्छु
 सिमलका भुवा सरी
 कहिले उत्ताउलो बनेर मन छुन्छ
कहिले पत्थर समान
 सोचलाई नै पाषण बनाई दिन्छ
 बादल झैं आवारा यो तिम्रै याद हो
 जसले तिमी बिना  
तिम्रो बिम्बलाई
मेरो मनसंग खेल्न दिन्छ
 लुटपुटिंदै , जिस्किदै
जताततै छोएर
 वलजफती आगो सल्काउँछ
 र
मेरो लुकेको समर्पणमा
 मनमौजी गर्छ
 मेरा मुर्छित सपनालाई
 उत्तेजित बनाएर
 सम्भोग गर्छ
 तृप्त म
 हर दिन आव्हान गर्छु
 प्रत्यागमनको तिम्रो याद ||

June 26, 2012

कविता - राजमार्ग छेउको डिलमा उभिएर


राजमार्ग छेउको डिलमा उभिएर
ऊ हरेक दिन
आउँदा जाँदा सवारीहरु हेर्छ
ठूला साना राम्रा नराम्रा
हरेक सवारीहरु
सँधै आतुरीमा हुन्छन्
सँधै वेगमा हुँइकिन्छन्
ऊ सँधै डिलमै हुन्छ
हरेक सवारीसँगै
उसका परिकल्पनाहरु
पर सम्म पुगेर फर्कन्छ
उसका रहरहरु
टाढा सम्म पुगेर टुडि.्गन्छ
उसका सपनाहरू
सवारी देखिउन्जेल तन्कन्छ
सवारी गतिशील छ
ऊ स्थिर छ
सडक स्थिर छ
उसको सोच गतिशील छ
ठूल्ठूला बन्द डब्बा भरीभरि
सपना बोकेर दगुर्ने सवारीलाई
उसले धेरै पटक सोधेको छ
डिलै छेउमा मेरो भागको सपना
कहिले खसाल्छौ ?

राजमार्ग छेउको डिलमा उभिएर
उसले सवारी चालकलाई
धेरै पटक अनुरोध गरेको छ
एकछिन् म उभिएको डिलमा आई
मैले लगाउने जुत्ता लगाई उभिएर  
हुँईँकिँदै गरेका ठूल्ठूला डब्बावाल सवारीलाई हेर
अनि बुझ्नेछौ
ठूल्ठूला डब्बावाल सवारीहरुले
बेवास्ता गरेर कुदे पछि
पिँडुलामा कैँडा पर्दाका पिडा
एकछिन् म उभिएको डिलमा उभिएर
मैलेझैँ कान थाप्दै उभिऊ
अनि बुझ्नेछौ
ठूल्ठूला डब्बावाल सवारीहरुबाट
मेरो भागका सपनाका पोका
नझर्दाका शून्यता
एकछिन् म उभिएको डिलमा उभिएर
आँखै खाने बत्ती बालेर बत्तिने गरेका
ठूल्ठूला डब्बावाल सवारीलाई
मैले लगाउने एक अंगुल मोटा सिसाबाट हेर
मैले हाँस्ने धाँजा फाटेर कलेटी परेका ओठ बन्द गरेर हेर
मैले गम्ने अध्याँरो मनबाट गमेर हेर
अनि बुझ्नेछौ
कोमल जिब्रोबाट निस्केका आश्वासनले
कडा शब्द बनेर छाती चिर्दाका मर्म

राजमार्ग छेउको डिलमा उभिएर
उसले चिल्ला गाडी भित्र गुञ्जने सङ्गीत मागेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले वातानुकुलित सवारी भित्रको भोग चाहेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले डब्बाबन्द विदेशी परिकारका स्वाद खोजेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले सवारी भित्रका चम्किला आँखाका चहक रोजेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले उसको भागको सपना चाह्यो
उसले उसको भागको ज्योति चाह्यो
उसले उसको भागको उज्यालो चाह्यो
उसले उसको भागको टुकि चाह्यो
उसले उसको भागको मट्टितेल चाह्यो
भूराहरु सहर जाँदैछन्
उसले बुझेको छ
सहरमा अँध्यारो छ
राजमार्ग छेउको डिलमा उभिएर

Monday, September 9, 2013

कविता - फूलहरु कहिल्यै हार्दैनन्


कविता - फूलहरु कहिल्यै हार्दैनन्

ओईलाएर लत्रिन लागेको घामको उज्यालो
जब तोरीबारीका पहेँला फूलहरुमा पर्छन्
घाम पनि सुनका जलप लगाउँछन्
तोरी पनि निख्खर पहेँलिन्छे
मध्यान्हमा यी फूलहरु
सिर्सिरे बतासका अँगालोमा बेह्रिएर
यिनै घामका रापलाई छल्न खोज्दथे
घाम यिनै फूललाई जलाउन खोज्दथ्यो
खेतको छेउमा उभिएर म तोरीका फूलहरुलाई नियाल्छु
थुप्रै रंगीचंगी पुतलीहरु
अहिले तोरीका फूलमा झुम्मिरहेका छन्
सिर्सिरे बतास अहिले मन्द हावा भएको छ
घामको प्रहार अहिले मधुरो भएको छ
उग्र घाम र बतास
फूलको कोमलतासँग हारेको छ

जितले त दुन्दुभी बजाउँछ
प्रतेक स्पन्दन र तान रगतमा गएर उफ्रन्छ
रगत लावा बनेर मस्तिष्कमा चढ्छ
मस्तिष्क उत्तेजित भएर अन्तरिक्षको सैर गर्छ
अन्तरिक्षमा चेतना अन्धो हुन्छ
अन्तरिक्षमा विवेक लाटो हुन्छ
अन्तरिक्षमा ज्ञान शव्दहिन हुन्छ
अन्तरिक्षमा अस्तित्व गर्भिणी भएर धरामा ओर्लन्छे
अनि शून्य अभिमान जन्माउँछे
जितले अभिमान जन्माउँछ
खेतको छेउमा उभिएर म तोरीका फूलहरुलाई नियाल्छु
जितमा फूल बौलाएकी छैन
जितमा फूल पात्तिएकी छैन
हो, जित पछि फूल गर्भिणी भएकी छे
जित पछि फूलले कोसा हाल्ने छे
जितको वीर्य पतन भएर
जितको नै पराजय भएको छ
अजेय जित
फूलको कोमलतासँग हारेको छ


खेतको छेउमा उभिएर म तोरीका फूलहरुलाई नियाल्छु
फूलहरु कहिल्यै दुःख बाँडदैनन्
फूलहरु कहिल्यै मुस्कुराउन छाड्दैनन्
मुस्कुराएका फूलहरुले
कानमा साउती मारेर गए
फूलहरु कहिल्यै हार्दैनन्
फूलहरु कहिल्यै हार्दैनन्