Share Bottom

Friday, September 20, 2013

कविता - राजमार्ग छेउको डिलमा उभिएर


राजमार्ग छेउको डिलमा उभिएर
ऊ हरेक दिन
आउँदा जाँदा सवारीहरु हेर्छ
ठूला साना राम्रा नराम्रा
हरेक सवारीहरु
सँधै आतुरीमा हुन्छन्
सँधै वेगमा हुँइकिन्छन्
ऊ सँधै डिलमै हुन्छ
हरेक सवारीसँगै
उसका परिकल्पनाहरु
पर सम्म पुगेर फर्कन्छ
उसका रहरहरु
टाढा सम्म पुगेर टुडि.्गन्छ
उसका सपनाहरू
सवारी देखिउन्जेल तन्कन्छ
सवारी गतिशील छ
ऊ स्थिर छ
सडक स्थिर छ
उसको सोच गतिशील छ
ठूल्ठूला बन्द डब्बा भरीभरि
सपना बोकेर दगुर्ने सवारीलाई
उसले धेरै पटक सोधेको छ
डिलै छेउमा मेरो भागको सपना
कहिले खसाल्छौ ?

राजमार्ग छेउको डिलमा उभिएर
उसले सवारी चालकलाई
धेरै पटक अनुरोध गरेको छ
एकछिन् म उभिएको डिलमा आई
मैले लगाउने जुत्ता लगाई उभिएर  
हुँईँकिँदै गरेका ठूल्ठूला डब्बावाल सवारीलाई हेर
अनि बुझ्नेछौ
ठूल्ठूला डब्बावाल सवारीहरुले
बेवास्ता गरेर कुदे पछि
पिँडुलामा कैँडा पर्दाका पिडा
एकछिन् म उभिएको डिलमा उभिएर
मैलेझैँ कान थाप्दै उभिऊ
अनि बुझ्नेछौ
ठूल्ठूला डब्बावाल सवारीहरुबाट
मेरो भागका सपनाका पोका
नझर्दाका शून्यता
एकछिन् म उभिएको डिलमा उभिएर
आँखै खाने बत्ती बालेर बत्तिने गरेका
ठूल्ठूला डब्बावाल सवारीलाई
मैले लगाउने एक अंगुल मोटा सिसाबाट हेर
मैले हाँस्ने धाँजा फाटेर कलेटी परेका ओठ बन्द गरेर हेर
मैले गम्ने अध्याँरो मनबाट गमेर हेर
अनि बुझ्नेछौ
कोमल जिब्रोबाट निस्केका आश्वासनले
कडा शब्द बनेर छाती चिर्दाका मर्म

राजमार्ग छेउको डिलमा उभिएर
उसले चिल्ला गाडी भित्र गुञ्जने सङ्गीत मागेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले वातानुकुलित सवारी भित्रको भोग चाहेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले डब्बाबन्द विदेशी परिकारका स्वाद खोजेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले सवारी भित्रका चम्किला आँखाका चहक रोजेन
राजमार्ग छेउको डिलमा उभिएर
उसले उसको भागको सपना चाह्यो
उसले उसको भागको ज्योति चाह्यो
उसले उसको भागको उज्यालो चाह्यो
उसले उसको भागको टुकि चाह्यो
उसले उसको भागको मट्टितेल चाह्यो
भूराहरु सहर जाँदैछन्
उसले बुझेको छ
सहरमा अँध्यारो छ
राजमार्ग छेउको डिलमा उभिएर


No comments: