Share Bottom

Friday, September 20, 2013

कविता >तिम्रो याद


 संझनाको  छारोले आँखा बिझाउँदा
धमिलिएका आँखाहरुले देखें
 चुपचाप
भुईमा संगै टाँसिएका एक जोडी छाँया
 सर्दै सर्दै गएको
 माथी घाम प्रखरै थियो
 अझै मैले छुट्टिनुमा
 बेलाबेलामा छेलिने
 घाम दोषी देखें
 र
फेरी सल्वलाउन थाले तिम्रा यादहरु
 उसो त यादहरु क्याक्टस झैं हुन्छन्
 काँडेदार
 उत्पत्तिमै बिष बोकेर जन्मेका
 र
 हजारौं दंश सहेर मनले सुम्सुमाउन माग्छ
 केवल तिम्रो याद
 तिमी  मात्र तिमी
 यो कुमारी मनमा
 यसरी नै फूलेका छौ शुवाषित
 मेरो यौवन
तिम्रो यादको परागले भरिएको छ ।
 तिम्रो यादको मात
 हर घडी बढिरहन्छ
 मेरो मन मस्तिष्क अग्लिँदै
 कल्पनालार्इ तरङ्गीत पार्दै
 आवेगमा आँखा चिम्लन्छु
 मलाई गर्लम्म अंगालो हाल्छ
 तिम्रो याद
तिम्रो याद कतै आगो झैं
 तुषारीत मनले तापिरहन्छु
 तिम्रो याद कैले जुन झैं
मेरा औश्याहा आँखाहरुमा
 भरी रहन्छु
 सिमलका भुवा सरी
 कहिले उत्ताउलो बनेर मन छुन्छ
कहिले पत्थर समान
 सोचलाई नै पाषण बनाई दिन्छ
 बादल झैं आवारा यो तिम्रै याद हो
 जसले तिमी बिना  
तिम्रो बिम्बलाई
मेरो मनसंग खेल्न दिन्छ
 लुटपुटिंदै , जिस्किदै
जताततै छोएर
 वलजफती आगो सल्काउँछ
 र
मेरो लुकेको समर्पणमा
 मनमौजी गर्छ
 मेरा मुर्छित सपनालाई
 उत्तेजित बनाएर
 सम्भोग गर्छ
 तृप्त म
 हर दिन आव्हान गर्छु
 प्रत्यागमनको तिम्रो याद ||

June 26, 2012

No comments: