Share Bottom

Thursday, December 31, 2015

कविता -अष्टमान



     अष्टमान
    सुन्दर छैन
    अनुहार ...
    काठमाडौंका सडक जस्ता छन्
    थुप्रै खाल्डाखुल्डी परेका
    र पनि
    ऊ अनुहारमा वसन्त बोक्छ
    ओठमा फूल फुलाउँछ
    माटोपानीले फुटेका हातहरु
    निधारसम्म उठाएर भान्छ
    "तारेमाम "
    र ङिच्च हाँसिदिन्छ
    सुन्दरताको परिभाषा च्यात्दै
    __________________

    बुसर्ट माथि मैलो इष्टकोट
    शिरमा थेप्चिएको ढाका टोपी
    कानमा चेपिएको गुन स्वाँ
    निधारमा एक धर्को रातो टिका
    मनमा आस्था
    पत्थरमा श्रद्धा
    अष्टमान
    एकाबिहानै
    भेटे जतिलाई आँखा चिम्लेर
    भक्तिले हात उठाएर भनिदिन्छ
    "भगवान् सर्न"
    र पुजिदिन्छ
    जगतमय ईश्वर देख्दै
    ________________
    खोला बगिरहन्छ
    अष्टमान हिँडिरहन्छ
    सूर्य उदाइरहन्छ
    अष्टमान चम्किरहन्छ
    फूल फुलिरहन्छ
    अष्टमान मुस्कुराइरहन्छ
    अष्टमान सरल प्रकृति
    अष्टमान हार्दिक सदभाव
    अष्टमान आनन्दमय प्रेम
    अष्टमान विसुद्ध मानव
    अष्टमान
    सधैँ सधैँ नयाँ वर्ष
    सधैँ सधैँ नयाँ दिन ...|

    {*गुन स्वाँ -गुनकेसरी फुल}

No comments: