कविता – आनन्द
के कहिल्यै सोचेका छौँ ?
अँध्यारो र उज्यालो
समान रूपमा
एकले अर्कालाई लखेटेझैँ गर्छन्
लखेटा लेखेट प्राप्तिको लागि
या तछाड्मछाड र प्रतिव्दन्दिता ?
एकको बिलुप्तीमा
अर्कोले साम्राज्य चलाउन ?
दृश्यमा त दुवै
घडी पलाका सीमित घेराका
कालचक्रमा नै बाँधिएका छन्
फेरी यो उफान किन ?
प्रतिव्दन्दिता के का लागि ?
समय पनि अक्षुंण छैन
तीन टुक्रा भाँचिएको छ
विगत गत आगत भएर
लम्ब्याउँदो छ आयु
फैलिदो छ श्रृष्टि देखि अनन्त
कहाँ छ आनन्दित समय !
जन्मदेखि भौँतारिरहेछ
अक्षुण अस्तित्वको खोजमा
आनन्दको खोजमा
नियती र परिणती
हाम्रा पनि त्यस्तै होइनन् र
उदयचलमा थालिएको यात्रा
अस्तयचलमा बिना प्राप्ति टुँगिन्छ
भ्रान्ति, खोज, भौँतराई
आफ्नै नाभिमा विना धरीत
कस्तुरी सङ्घर्ष
आँखामा लालसाको पट्टि बाँधेर
कलह क्लेषको मार्गमा पदचाप छोड्दै
जीवनगति घुमिरहेछ
दोभानको पानीमा पर्ने चक्र समान
आफैले आफैलाई निल्दै
चेतनाले
हरेक अनुहारमा दाग देख्यो
हरेक चरित्र कलुषित देख्यो
हरेकलाई दागी पायो
अन्धकूपमा सल्बलाउँदै
आनन्दको खोजको गर्यो
जेहनमा कहिल्यै पनि
कसैमा पनि कहिँकतै पलाएन
मासा भर तौलको श्रद्धा
कसरी पलाउँथ्यो !
अन्धकार त दिशाहिनताको जननी हो
रैदास जुत्ता सिउँथे
पेसा थियो उनको
रोटि पाउँथे
त्यसैले श्रद्धा गर्दथे
श्रद्धाको चरम गुञ्जनबाट
सन्तोष अवतरित हुन्छ
उद्भवित् सन्तोष
आनन्दका लाखौँ व्दार खोल्छ
मेरो मान्छौ भने
अन्धकारको कोखमा प्रहार गर
रोक दिशाहिनताका कौरव जन्म
बाल श्रद्धाले एक दीप
लेउ असीम आनन्द
सश्रमको आनन्द
मीठो हुन्छ
दीपावली को शुभकामना
No comments:
Post a Comment