कविता - फूलहरु कहिल्यै हार्दैनन्
ओईलाएर लत्रिन लागेको घामको उज्यालो
जब तोरीबारीका पहेँला फूलहरुमा पर्छन्
घाम पनि सुनका जलप लगाउँछन्
तोरी पनि निख्खर पहेँलिन्छे
मध्यान्हमा यी फूलहरु
सिर्सिरे बतासका अँगालोमा बेह्रिएर
यिनै घामका रापलाई छल्न खोज्दथे
घाम यिनै फूललाई जलाउन खोज्दथ्यो
खेतको छेउमा उभिएर म तोरीका फूलहरुलाई नियाल्छु
थुप्रै रंगीचंगी पुतलीहरु
अहिले तोरीका फूलमा झुम्मिरहेका छन्
सिर्सिरे बतास अहिले मन्द हावा भएको छ
घामको प्रहार अहिले मधुरो भएको छ
उग्र घाम र बतास
फूलको कोमलतासँग हारेको छ
जितले त दुन्दुभी बजाउँछ
प्रतेक स्पन्दन र तान रगतमा गएर उफ्रन्छ
रगत लावा बनेर मस्तिष्कमा चढ्छ
मस्तिष्क उत्तेजित भएर अन्तरिक्षको सैर गर्छ
अन्तरिक्षमा चेतना अन्धो हुन्छ
अन्तरिक्षमा विवेक लाटो हुन्छ
अन्तरिक्षमा ज्ञान शव्दहिन हुन्छ
अन्तरिक्षमा अस्तित्व गर्भिणी भएर
धरामा ओर्लन्छे
अनि शून्य अभिमान जन्माउँछे
जितले अभिमान जन्माउँछ
खेतको छेउमा उभिएर म तोरीका फूलहरुलाई नियाल्छु
जितमा फूल बौलाएकी छैन
जितमा फूल पात्तिएकी छैन
हो, जित पछि फूल गर्भिणी भएकी छे
जित पछि फूलले कोसा हाल्ने छे
जितको वीर्य पतन भएर
जितको नै पराजय भएको छ
अजेय जित
फूलको कोमलतासँग हारेको छ
खेतको छेउमा उभिएर म तोरीका फूलहरुलाई नियाल्छु
फूलहरु कहिल्यै दुःख बाँडदैनन्
फूलहरु कहिल्यै मुस्कुराउन छाड्दैनन्
मुस्कुराएका फूलहरुले
कानमा साउती मारेर गए
फूलहरु कहिल्यै हार्दैनन्
फूलहरु कहिल्यै हार्दैनन्
No comments:
Post a Comment