Share Bottom

Saturday, August 24, 2013

कविता - फूल र संझना


कविता  फूल र संझना !
फूल र संझना 
सन्ध्या छाउँदै गरेको बेला
तलाउको छेउमा
पानीका उछालले
लहराउँदै ल्याएको एउटा फूल
हत्केलामा उठाएर राखें
जस्का पंखुडीहरु
तरोताजा नै थिए
मैले तिमीलाई दिएको फूलका जस्तै
तिमीले लिएको फूलका जस्तै


त्यस बेला पनि
सन्ध्या छाउँदै गरेको थियो
सिर्सिर हावा चलिरहेकै थियो ||
तिम्रो अनुहारमा
बतासिएर आएका
एक लच्छि कपालहरु
अनुमती बगैर
काँप्दा हातले पन्छाईदिएको थिएँ
जानिजानि
छोईदिएको थिएँ
आज पनि
सन्ध्या छाउँदै गरेको थियो
सिर्सिर हावा चलिरहेकै थियो
आज पनि
हत्केलाका फूलको पारी
आँखाहरु
तिमीलाई खोज्दै थिए


हतारो थियो
समय बगीसकेको थियो
र पनि
मौनतामा हामी
समय बाँध्ने
ब्यर्थ प्रयासमा तल्लिन थियौं
समय
हामी दुईको
बाँधिएको हत्केलामा
रोकिदै रोकिएनँ
अलि पर
टिमटिमाउँदो बत्ती भन्दा
उज्याला दीयोहरु
दुबैका आँखामा बलेका थिए
त्यसैले त हृदयमा
प्रकाश थियो
मधुरता थियो
मधुरता
बिना बाटो
ओठभरि आएर फैलिएका थिए
छुट्टिने पलमा पनि
तिमीले स्यूरिएको फूलको पारी
आँखाहरु
तिमीलाई खोज्दै थिए


फूलहरु
सँधै तरोताजा रहन्नन्
फूलहरु
सँधै सुवासयुक्त रहन्नन्
लिईएका फूलहरु
दिईएका फूलहरु
अन्तरा कुन्तरा कहीं रहुन्
खोंचमा चेपमा कही कतै रहुन्
संझनाका धागोमा
लिइँदाका कम्पन
दिइँदाका मिठास
पलमा समेटिएका भाव उनेर राख्न
सक्षम हुँदारैछन्
फूलहरु ||

No comments: