Share Bottom

Saturday, August 24, 2013

कविता >एउटा कविता


एउटा कविता 

प्रिय सम्पादकज्यू
एउटा कविता पठाएकी छु
छापिदिनुहुन्छ कि ?

मेरो कवितामा देशभक्ति गान छैन
मेरो कवितामा वीरगाथा छैन
न त हाँकडाँक र जोशिला आव्हान छन्
मेरो कवितामा केवल
देश छोडेर आउँदा
फुकुमे चप्पलका तलुवाका प्वाकलमा
गाभिएर आएका
माटोको गन्ध छ

मेरो कवितामा प्रेमको सौन्दर्य बर्णन छैन
मिलनका हर्ष हाँसेका छैनन्
बिछोडका आँसुले भिजेका छैनन्
मेरो कवितामा
भुन्टेका बा को संम्झना छ
भुन्टेको अबोध अनुहार छ
बिदेशिँदाका बाध्यता छन्
असरल्ल छोडिएका घरव्यबहार छन्
वस्तुलाई दिन नपाएको कुँडो छ
मेलापात र आफन्तका हुकहुकिसँगै
वैरीका समेत
सानोतिनो सम्झना छ

मेरो कवितामा राम्रो घर छैन
चुहिएको खर छायो छाएनन् को सोधनी छ
सुन्दर भविष्यको कल्पना छैन
तीरो तिरे तिरेनन् को पुछनी छ
चोखो मीठो भन्दा पनि
छाक टरेको छ कि छैन को प्रश्न छ
परदेशमा
यस्तै यस्तै भोगिन्छ, यस्तै यस्तै कल्पिन्छ
यस्तै यस्तै लेखिन्छ
रस न बसको
छन्द न बन्दको
दुःखेसो पोखिएका
एउटा कविता पठाएकी छु
प्रिय सम्पादकज्यू
छापिदिनुहुन्छ कि ?

No comments: