कविता खोज !
मान्छे आफै पनि हराउँदो रहेछ
आफै भित्र पनि हराउँदो रहेछ
आफैभित्रको
असिमित एकान्तमा
म डुबुल्की मार्छु
पच्छ्याउँदै
समयका डोबहरु
जहाँ तिमीले कुल्चेका ताजा चिन्ह छन्
जहाँ तिमीले बोलेका मीठा गुञ्जन छन्
तिमीबाट निस्कीएका
तिम्रै खालको सुवाषलाई
मेरा ईन्द्रियहरु
यहि असिमीत एकान्तमा खोज्दछन्
खोज्ने चेष्टामा मन हराउँछ
पाउने आशामा मन रमाउँछ
बिश्राम रहित प्रयत्नहरुले
आफैलाई आफैभित्र लुकाईदिन्छ
आफैलाई आफैभित्र हराईदिन्छ
मान्छे आफैमा पनि हराउँदो रहेछ
तिमी र म
केवल शव्द होईनौ
तिमी र मको संयोग हामी
र
हामीको बिस्तार हामीहरु
तिमी, म, हामी हामीहरु
केवल शव्द होईनन्
बिश्व हो ब्रम्हाण्ड हो
ब्रम्हाण्ड
जहाँ चेतना छ
चेतना यानी ज्ञान छ
ज्ञान यानी बिवेक छ
बिवेक छ र त मन छ
मनभित्र समाहित अनुभूती छ
अनुभूतीमा भावहरु छन्
भावहरु
अनश्वर
अनन्त सम्म बिस्तारीत
बिस्तारमा आबद्ध मस्तिष्क
मस्तिष्क त धरा हो
र धरा सँधै उर्वरा हुन्छ
कृयाशील हुन्छ
धराको बरदानमा प्राप्त कृयाशीलताले
सँधै तिमीलाई खोज्दछ
तिमी, म, हामी र हामीहरुमा
बिश्वमा ब्रम्हाण्डामा
यो खोजाईको नसामा
मान्छे आफैमा पनि हराउँदो रहेछ
भित्र केहि छ
भित्र कहिं कतै पक्कै केहि छ
डिम्ब या प्राणवायु
आत्मा या चेतना
अदृश्य व्दारा उत्पादित सादृश्य
नश्वर भित्र अनश्वरको वास
या
अनश्वरवाट संचालित नश्वर
महारौद्र ध्वनीको बिष्फोट पछि
अनन्त शान्ती र शुन्यतामा बिलीन हुने
यो भित्रको के हो
जड छ स्थिर छ
या
चलायमान छ तरंगीत छ
अव्यक्त अलौकिक अनुपम
सारतत्व
निर्गुण निराकार
बिशिष्ट अ/तत्व
आत्मा रुह सोल
नाम अनेकन तर सार एक
यसै भित्र खोज्दछु
सतहमा खोज्दछु
गहिराईमा खोज्दछु
भित्र भित्र झनै भित्र खोज्दछु
आफैलाई आफैभित्र लुकाई
आफैलाई आफैभित्र हराई
आफु नभएर खोज्दछु
आफु भएर खोज्दछु
भौंतारिदा
तिमी नै भएर खोज्दछु
खोजाईमा
मान्छे आफैमा पनि हराउँदो रहेछ ||
No comments:
Post a Comment