Monday, August 19, 2013
कविता - तिमी बिना म उस्तै रहिरहें
कविता - तिमी बिना म उस्तै रहिरहें
प्रश्नहरू
मौनताभित्र पनि थिए
अभिव्यक्तिहरू
बन्द ओठ भित्र पनि थिए
आँखाहरुमा
बिश्मय नउव्जेका होइनन्
तिमी हुनु र नहुनुको औचित्य
त्यो बेला पनि खुलेन
अहिले पनि खुलेको छैन
बतासका एक लहर भएर
क्षणभरलाई
तिमी आयौ र गयौ
आगमनका प्रतीक बनेर
केवल क्यालेण्डरका पाना उल्टिए
क्षणभरको मधुमास पछि
म उस्तै रहें
म उस्तै रहिरहें
समय सर्दैछ
मुट्ठिबाट बालुवा फुस्किएर झरेझैं
सुलसुल सुलसुल
बलुवाका प्रतेक दानामा
म समयका पलहरुलाई केलाउँछु
उदाउँदा राता घाम छुट्याउँछु
अस्ताउँदा सुनौंला किरण निफन्छु
एक एक रेसा उधिनेर
म तानभरि रंगीचंगी
सपना बुनेर पनि
त्यसलाई कुनामा थुपारेर
किन हो ! रातभरि
अँध्यारो ओढेर सुत्छु
मैले आफूलाई
रंगीचंगी सपनामा खोजें
अँध्यारोमा खोजें
उज्यालोमा खोजें
अहं ! कतै पाइनँ
मैले म भित्रै पाएको म
उस्तै रहें
म उस्तै रहिरहें
भित्र केही छ जस्तै छ
चिहाउँछु
खोक्रो लाग्छ
केही सल्बलाए जस्तो लाग्छ
छाम्छु, खालीखाली लाग्छ
भित्र केही छाडेर गयौ ?
या
भित्रको केही लिएर गयौ ?
किन छाम्दा केही भेट्दिन ?
किन चिहाउँदा केही देख्दिनँ ?
लिएर गयौ भनु भने दिएको केही छैन !
दिएर गयौ भनुँ भने लिएको केही छैन !
लेनदेन बिनाको यो खालीपन के हो ?
कतै केही ठम्याउँन
मेरा नजर छैनन्
नजर छैनन् र त दृश्य छैनन्
दृश्य बिना सपना छैनन्
सपना बिना उमंग छैनन्
उमंग बिना प्रेम छैन
प्रेम बिना जीवन छैन
अहो !
जीवनको सार
तिमी बिना
म उस्तै रहें
म उस्तै रहिरहें ||
By: Sama
Labels:
कविता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment