कविता
शहिदकी आमा !
ब्रम्हाण्डभरिका
उदासी समेटिएका आँखाहरुले
उनी भित्तामा निहार्छिन्
भित्तामा झुण्डिएको तस्वीर
आँखा मोतीबिन्दु भएका
छवी धर्मर धर्मर
नालायक दृष्टिको अत्याचारमा
आँखा फोडन सक्दिनन्
बिवशतामा
फगत आँशु चुहिन्छ
दुईटा सामान्य किल्लाको भरले अडेको
हल्लिने मेच माथि चढेर
तस्वीर उतार्छिन
सप्कोले पुच्छिन्
तस्वीरमा
झरेका आँसुले
तिलक लगाईदिन्छिन्
शहिदकी आमा
मासुको बिभत्स थुप्रोको छेउमा
निर्लज्जहरु
कोही नारा लगाईरहेका थिए
कोही बन्दुकको नालबाट
निस्कँदै गरेको धुँवा फुक्दै थिए
रगतको अहाल
ऊ जन्मिँदा पनि बनेन
जन्माउनेले पनि बगाएन
बाईस बर्षको ममता
निस्तानामेट पार्यो
मात्र
चौध रुपैयाँ पचहत्तर पैसाको गोलीले
ठूल्ठूला प्रतिक र बिम्ब जडेर
कुरा गर्नेहरुसंगै
ऊ बादमा अल्झियो
श्रीखण्डमा बेरिएको भुजङ्गले
चीसो फणा फिंजायो
उनी यादमा बल्झिईन्
बुढेसकालको लठ्ठि भाँचिए पछि
दिन बिराएर उपवास बस्दै
खोक्रो कोखमा
भोक गुन्गुनाउँछिन्
शहिदकी आमा
पुष्पगुच्छा र फूलले पुरिएको शवले
खै ! कति सुगन्ध बोकेर लग्यो
जयकारको ध्वनीले
खै ! कति आल्हादित भयो
उस्ले बलिदान दियो दिएन
आवश्यक थियो थिएन
परिवर्तन हेर्ने आँखा
आकाश तिर खुल्ला थिए
उस्ले रगतले पटाएको धर्तीमा
अब हजारौं बाहन गुड्छन
लाखौं खुट्टा हिंडछन्
पानका पिक र
गन्हाउने खैनीका थुकले
त्यो ठाउँ धुलिईसकेको छ
खाली टिन बोकेर
मट्टितेल लिन ताँतीमा
सोही ठाउँमा उभिएकीछिन्
शहिदकी आमा
शहिदकी आमाको सपना छैन
आँखामा मोतिबिन्दु भएको बर्षौं भयो
शहिदकी आमाको आशा छैन
छोरा मरेको (या तुहिएको) बर्षौं भयो
एकान्तमा हुँडलिने
छोराको याद बाहेक
शहीदकी आमाको मानसपटलमा
भोलिको छाक छ
पर्सिको गर्जो छ
कोठा भरि लाचारी छ
घर भरी मरेको आशा छ
अहिले
झिंटिगुन्टा कसेर
डेरा सर्ने तर्खरमा छिन्
शहिदकी आमा ||
No comments:
Post a Comment