कविता
बिजय हाँसो
कहिले कतै फुलेको फूल देख्दा
हामी फूलसँगै सापटि लिएर
फूलकै हाँसो हाँस्छौँ
तर फूल
उत्पतिसँगै
जन्मजात हाँस्छ
ओइलाएर झर्दा पनि
यसका हाँसो ओइलाउँदैन
फूलमा बिजय हाँसो
यथावत रहन्छ
बिजय युद्ध हैन
बिजय शस्त्रको परिक्षक पनि हैन
कोमल शस्त्रहीन फूल
युद्ध गर्दैन
त्यागको मसिहा फूल
सुगन्ध लिदैन
सुगन्ध दिन्छ
आफ्नो सार्थकतालाई
नैसर्गिक बिशिष्ठता बनाएर
बिजयी हुन्छ
त्यसैले ओइलाउँदा पनि
धर्मनिष्ठ फूल
बिजय हाँसो हाँस्छ
एक चिम्टि माटोको आश्रय
एक झुल्को घामको देन
साससँगै खैँचिएका नमी
र सानो संघर्ष
प्रयाप्त छ जीवन फुल्न
र यौवनमैँ
फूल चढिन्छ
फूल चढाईन्छ
तथापी
फूल हाँसेकै हुन्छ
बिना व्देष बिना राग
बिजय हाँसो
हो
फूल सँधै
बिजय हाँसो हाँस्छ
किन कि फूल
कुनै सिमा क्षेत्रभित्र बाँधिएर फुल्दैन
फूल कुनै सिद्धान्तका रङ्ग ओढ्दैन
फूल कुनै धर्म अधिनस्त डन्ठामा पलाउँदैन
फूल कुनै कोरा आदर्शका गीत गाउँदैन
फूल आफैमा एक धर्म हो
फूल आफैमा एक आस्था हो
फूल आफैमा निर्मल प्रार्थना हो
टिपिँदा
मस्तक जति उँचो हुन्छ
चढाउँदा त्यो त्यति नै नुहिन्छ
जहाँसुकै चढियोस्
फूल आफैमा मोक्ष हो
त्यसैले फूल
बलि दिईदा पनि
कामना प्राप्ती गराईदिन
बिजय हाँसो हाँस्छ ।
December 2, 2012
No comments:
Post a Comment