Share Bottom

Saturday, August 24, 2013

कविता - एक बुँद पानी !


सम्झ त एक पटक
मेरो आगमनको क्षण
म एक बुँद पानी
हजारौ फूल बनेर
झरेको थिएँ
तिम्रो शिर माथि
सँगालेनौं सम्भालेनौं
बिवषतामा
झरें
अतृप्त हुँदै
र बगेँ
तिम्रा पाउ पखाल्दै
तिम्रो उदासिनतमा
नियती बदलिएर
एक पटक फेरी भएँ    
एक बुँद पानी


तिम्रो स्वीकार्यतामा
म अक्षुण रहन्थे
कोखबाट
अलंकारयुक्त चिनारी जन्मन्थे
अनि आँगनैभरि
हाम्रा सपनाहरु फुल्थे फल्थे
लटरम्म
हाम्रा दुई जोडी नानिहरुबिच
खुसी झुल्थे
तिमी
अधुरो सुखी
खुसी खोज्न भौंतारिरह्यौ
बिर्सेर सानो पाठ
खुसीमा सुख हुन्छ
सुखमा खुसी हुँदैन
मृगतृष्णका थकानमा
म देख्दैछु तिम्रा चाहनाका
कलेटी परेका ओठहरु
साँच्चै अहिले तिमीले बुझेमा
तिमीलाई जरुरी छ
सिर्फ म
एक बुँद पानी


सानो कुरा
तिमीले बुझिदिएको भए
तिम्रो तिर्खामा
मेरो प्यास मेटिनसक्थ्यो
तिम्रा शुष्क अबरुद्ध कण्ठलाई
चाहिएको थियो
केवल एक बुँद पानी
कठै !
अभिमानको बृक्षका जरा
मष्तिष्कका कुनाकुनामा पुगेर
बिवेक चुस्दछ
र खोक्रो ठाउँमा भरिदिन्छ
दम्भका निख्खर काला बादल
तिमीबाट टाढा
यही सोचेर बग्दैछु
अबको पालो
तिम्रा चक्षु खुल्नेछ
बादल बर्षिनेछ
अभिमानका बृक्षलाई
ज्ञानका आरीले काट्ने छ
अर्को चक्रमा
म फेरी
उमङ्ग बोकेर
हर्षित हर्षित
हजारौं फूल भएर झर्नेछु
त्यतिबेला स्वीकारेर अङ्गाल्नु
एक बुँद पानी  ||
December 14, 2012

No comments: