मेरो मुट्ठि भित्र
तिमी सोच्दो हौ
मेरो मुट्ठि भित्र
के के न होला भनेर
तिमी गए देखि
नखोलेका यी मुट्ठिभित्र
फगत्
समयका हाँगाबाट
चोरी गरिएका केही पलहरू छन्
जुन अझै मेरो मुट्ठिमा कैद छन्
यिनैलाई
कहिले हेर्छु
कहिले सुम्सुमाउँछु
कहिले माया गर्छु
बिचरा हिजोका पलहरू
उड्न सक्दैनन्
कुँजो भएर
मेरो स्मृतिमा बाँचिरहेछन्
रहरका प्वाँख पलाउने आशामा
समय डरलाग्दो छ
समय कहाली लाग्दो छ
घामलाई छेलेर
उडिरहने समयको कालो छायाँ
अन्धकारका लागि काफि रहेछ
कोठाहरू अँध्यारा छन्
बाटोहरु अँध्यारा छन्
अड्ने र बढ्नेको दोसाँधमा
थुप्रै कुराहरू अल्झिरहेछन्
थुप्रै कुराहरू बल्झिरहेछन्
यस्तै यस्तैमा जेलिएर बेला
मैले झस्क्एिर
खोतले
आफ्नै अस्तित्वलाई
छामे
आफ्नै पहिचानलाई
चिन्न खोजे
आफ्नै अनुहारलाई
निर्दयी समयले
घरभरिका एेना फुटाए पनि
मान्छे
अनुहार बिहिन हुँदोरहेनछ
समयले
अनुहार बिगार्दो रहेनछ
म उस्तै रहेछु
म त्यस्तै रहेछ
मात्र
समय बदलिएछ ||
No comments:
Post a Comment