Share Bottom

Saturday, August 24, 2013

कविता :काठमाण्डौं के छ तँ मा यस्तो ?


काठमाण्डौं के छ तँ मा यस्तो ?


कंक्रिटका कोढ फुटेर
निस्किएका पिपहरु
बागमती र बिष्णुमतीमा
बग्न थालेको धेरै भयो
तर अझै पनि
करिडोरको चारआना जग्गा
मोहनी फुलाई रहेछ
अचम्म लाग्छ !
काठमाण्डौं
के छ तँ मा यस्तो ?


टिस्टुङ असारमा काउली दिन्छ
गजुरी पुषमा काँक्रो सुम्पन्छ
धेरै भयो
बालत्कारीले च्यातेको
मनोहराको हरियो सारी
जरीवाला हरियो सारी
जस्को पारीमा
अभ्रख टल्कन्थे, बालुवा हाँस्थ्यो
तर अझै पनि
चम्सुर पालुङ्गो
जिब्रो तानिरहेछ
अचम्म लाग्छ !
काठमाण्डौं
के छ तँ मा यस्तो ?



जाँदा पनि यहीँ छुट्टिन्छन्
आउँदा पनि यहीँ भेटछन्
भेट्दा होस् कि छुट्टिदा
मान्छे
सँधै धुलोको गुम्बज भित्र
सास लिईरहेको हुन्छ
र हरेक सासमा
सरापिरहेको हुन्छ
धुलोलाई
थुकिरहेको हुन्छ
फोहरलाई
वाक्क लाग्दो हुँदा पनि
टाउको लुकाउँन
यसैको ओत लाग्छ
यसैमा बास माग्छ
अचम्म लाग्छ !
काठमाण्डौं
के छ तँ मा यस्तो ?

No comments: