बिशेषण
आँखाभरि जिज्ञासा टाँसेर
अबोध नातनातीनाहरु
मसँग झुम्मिन्छन्
प्रश्नहरुको लर्को लगाउँछन्
केही प्रश्नका उत्तर दिन्छु
केही प्रश्नका उत्तर मसँग पनि हुँदैन
त्यतिखेर
कताकता भित्र पीडा हुन्छ
उनिहरुको प्रश्नलाई सम्बोधन गर्न नसक्दा
हठात्
म समयको जिम्मा लगाउँछु
र हेर्छु
ति मायालु अनुहारमा
जहाँ जान्ने उत्सुकता
यथावत् आँखामा तैरिरहेको हुन्छ
*************************
वरिपरि झुम्मिएर
अबोध नातीनातीनाहरु
मेरा अतित खोतल्छन
बालहठमा नुहेर
म हरेक साँझ
आफ्ना कथाहरु भन्छु
मेरा कथाहरुमा
कहिले हाँस्छन्
कहिले रमाउँछन्
केही कुरामा ओठ गोलो पार्छन्
केहि कुरामा आश्चर्य मान्छन्
र पनि टुङ्गिदैन
उनिहरुका अनन्त जिज्ञासा
त्यसैले घरिघरि आएर
मेरो भित्री अतित
कोट्याउँछन् खोतल्छन्
खोस्रन्छन् खन्छन्
र त्यतै कतै
आफ्ना भविष्य चिहाउन खोज्छन्
************************
वरिपरि झुम्मिएका
अबोध नातीनातीनाहरुलाई
म माछा मार्दाको कथा सुनाउँछु
उनिहरु धैर्यता बटुल्छन्
म घोडा चढेको कथा सुनाउँछु
उनिहरु साहस थुपार्छन्
गाउँगाउँका नाम सुनाएर
म उनिहरुको पोल्टामा
एक टुक्रा देश हालिदिन्छु
बिभुतीका नाम जपाएर
देशप्रेमको मन्त्र फुकिदिन्छु
सगरमाथाको उँचाई भनिदिन्छु
आफ्नो अग्लाई नाप्न सकुन्
बुद्धको बाणी सुनाईदिन्छु
जीवनमा कहिल्यै हिंसक नबनुन्
म चाहन्छु
मेरा कथाका त्यान्द्रा त्यान्द्रा बटारेर
उनिहरुले लगाम बनाउँन्
समयलाई कजाउन्
म अह्राउँछु तिनीहरुलाई
उँचाईबाट टाढासम्म देखिन्छ
त्यसैले
मेरा अनुभवका ईटाहरुलाई तह पारेर
मेरो उँचाई भन्दा
एक अंगुल माथि चढेर
उचाईबाट भविष्य चिहाउन्
र थपुन्
आफ्नो नामको अगाडी
बिशेषण ।
No comments:
Post a Comment