कविता
सुमेरु, तिम्रो नाम
हृदयमा जब भुल्काहरु उठछन्
यसमा संचारित तरंगहरु
मधुरता लिएर
अधरभरि फिंजिइदिन्छन्
अपरिमीत मायाको सागरका लहरहरुमा
लहराउँदै माथि उठेर आउँछ
एक नाम
तिम्रो नाम
शिशिरको कोपभाजनमा परेर
नाङ्गिएका रुखमा
बसन्त बनेर फैलिएसरी
अतुलनिय तरंग
मिठास बनेर
मनलाई काउकुती लगाउँछ
अस्तित्वको शिरबिन्दु
तिम्रो नामलाई धुरी बनाएर
तिम्रो अक्षमा बाँधिएकी म
सम्पूर्ण तवरले समर्पित
आरतीमा नेत्रज्योती बालेर
पुष्पाञ्जलीमा आफैलाई
पत्र पत्र चढाउँदै
प्रदक्षिणामा उच्चारण गर्दछु
एक नाम
तिम्रो नाम
कहिले तिम्रो नामको गहिराईमा
मेरो माया संगालेर राख्न चाहन्छु
कहिले बिस्तृत आकाशभरि छर्न चाहन्छु
फेरी डराउछु
शंका उम्रन्छ मनमा
तिम्रो नामको भूतल नाप्न नसक्दा
या
तारा झैं आकाशबाट पलायन हुँदा
पिडा थाम्न सकुँला नसकुँला
कहाँ कसरी बाँधु तिम्रो नाम
सूर्यको परिधीमा लगेर बाँध्न सक्दिन
बज्र समान सूर्यको प्रहार कतिञ्जेल थेग्ला
चन्दमाको पनि जिम्मा लगाउन सक्दिन
सोह्र कलामा घट्ने बढ्ने चन्द्र
आफैमा स्थायी भाव हैन
महासागरको जल झैं खैंचेर
छालमैं खसालिदेला
म हरमूल्यमा अक्षुण राख्न चाहन्छु
एक नाम
तिम्रो नाम
तिम्रो नाम
पवित्र अक्षरहरुका माला
जस्मा सुमेरु समान तिम्रो माया
प्रतेक गेडीलाई गन्दा गन्दै
धड्कन जव सुमेरुमा पुग्दछ
माया अझ प्रगाढ बन्दछ
आत्मामा समाहित हुन्छ
मेरो रोम रोममा फैलन्छ
उर्जा दिन्छ
अर्धमुदित नयनहरुमा
फेरी सपना तरेली खेल्छन्
उमंग बनेर तरंग भरिदिन्छन्
निचोडिएर एउटा बिश्वास
बज्र हुन्छ
तृप्त भएकी म
परिदृश्यबाट माथि उठेर
मुक्त हुन्छु
उन्मुक्त हुन्छु
र फेरी अधरभरि फिंजाउँछु
एक नाम
तिम्रो नाम
July 19, 2012
July 19, 2012
No comments:
Post a Comment