Share Bottom

Sunday, April 12, 2015

वंशलोचनका हृदय छुने पाटाहरु : एक चर्चा

वंशलोचनका हृदय छुने पाटाहरु : एक चर्चा
वंशलोचन कविता संग्रहर दोस्रो पटक पढि सक्याएँ । दोस्रो बसाइमा कवितालाई अत्यन्तै चाख मानेर र गहिरिएर पढेँ किनभने पहिलो बसाइमा नै यसका केही कविताहरुले मनभित्र खुल्दुली जन्माएका थिए तर व्यक्तिगत कारणले गर्दा दोहर्याउन सकेको थिइँन । यहाँ कविता सङ्ग्रहको समक्षिा भन्दा पनि यस सङ्ग्रह भित्रका केही कवितांशहरुले मनलाई निक्कै सन्तुष्टि दियो ।
हरेक रचनालाई बुझ्ने सबैको आ-आफ्नै तरिका हुन्छ । व्यक्तिमा निहित चेतनाको स्तर र बौद्धिकताले हरेक रचनालाई फरक रूपमा बोध गरिन्छ । वंशलोचन कविता सङ्ग्रहमा समाहित कविताका वैचारिक गहनताले मेरो मनमा निक्कै असर पारेको छ । कविताहरू दुरुह या बुझ्न नसकिने नभएता पनि यसमा प्रयोग गरिएका कतिपय शब्दहरूको खाँट्टि अर्थ खोज्ने उत्कण्ठा जागृत हुँदा अर्थ बुझ्न शब्दकोषको प्रयोग गर्न पनि जरुरी रह्यो । सङ्ग्रहका कवितांश, कविताहरुमा उल्लेख गरिएका शब्द, शब्दावली र तिनका अर्थलाई मेरो बुझाई अनुसार प्रष्ट्याउने कोसिस गर्दैछु । मेरा बुझाई र बिचारहरुसँग कवि या अन्य पाठक सहमत हुनैपर्छ भन्ने छैन, तर एक पाठकको हैसियतले मैले बुझेका कुराहरूलाई राख्ने अनुमति चाहन्छु ।
वरद् म भएँ
या
वरदान तिमी पाएँ
तिम्रो कर्म नैवेद्य
तिम्रो वात्सल्य पूजा
तिम्रो स्नेहशील नयन दियो
आमा !
म सधैँ तिम्रो यज्ञ भएँ
यश पताकाको डण्ड भएँ
सर्वस्व भएँ
सर्वस्व रहँे -- "आमा" कविताबाट
आमाले आफ्नो सन्तानको लालनपालन गर्ने कार्य वास्तवमा तपस्या हो, यज्ञ हो । यज्ञ गरेर सुयोग्य बनाएका सन्तानले यश पाउँदा पताकाझैँ खुसीले फर्फराउने आमा नै हुन्छिन्, सन्तान त पताकाको दण्ड मात्र हुन्छ । आमा र सन्तान बिचको यो मीठो अन्यौलपूर्ण अवस्थाको वर्णन मलाई ज्यादै सुन्दर लाग्यो । आमाको लागि सन्तान आशीर्वाद हो या सन्तानको लागि आमा वरदान हो ? यो प्रश्न अनुत्तरित नै रहनेछ ।
मैले के अर्पण गरेँ ?
पञ्चतत्वका मिलित झुरा
जलकणमा भरेँ प्रेम पूरा
मृत्तिकामा परे आस्था धुरा
रजकणभरि मेरो भाव धरेँ
आफूलाई तिमीमै छरेँ
मैले यही अर्पण गरेँ -- "मैले के अर्पण गरेँ" कविताबाट
मानिस पृथ्वी, तेज, जल, आकाश र वायु यी पञ्चतत्वले बनेको हुन्छ । मृत्तिका (यहाँ समष्ट मानवजाती या जन्मभूमी) लाई प्रेम आस्था र समर्पण भाव बाहेक अन्य कुराहरू धरतीकै उपज भएकोले अर्पण गर्न मानिससँग अन्य केही हुँदैन । देशप्रेमको यो सुन्दर नमुनाले निक्कै तरंगित बनायो ।
भित्र केही छ
भित्र कहीँ कतै पक्कै केही छ
डिम्ब या प्राणवायु
आत्मा या चेतना
अदृश्यद्वारा उत्पादित सादृश्य
नश्वरभित्र अनश्वरको वास
या
अनश्वरबाट सञ्चालित नश्वर
महारौद्र ध्वनिको विस्फोटपछि
अनन्त शान्ति र शून्यतामा विलीन हुने
यो भित्रको के हो
जड छ स्थिर छ
या
चलायमान छ तरङ्गित छ
अव्यक्त अलौकिक अनुपम
सारतत्व
निर्गुण निराकार
विशिष्ट अतत्व
आत्मा रुह सोल
नाम अनेकन् तर सार एक -- "तिमी र म" कविताबाट ।
ईश्वर या आत्मा के हो ? माथिको अनुच्छेदमा दुवैलाई खोज्ने सुन्दर प्रयास देख्दछु । आत्मा या ईश्वर डिम्ब हो कि प्राणवायु मात्र हो, जसलाई आत्मा भन्छौँ त्यो कतै चेतना मात्र त हैन ! आत्मा या ईश्वर अनश्वर र अदृश्य छ तर मानिस त्यसै अनश्वर र अदृश्यबाट उत्पादन भए पनि सादृश्य र नश्वर हुन्छ । भित्र महसुस हुने, तरंगित हुने, अव्यक्त अलौकिक अनुपम के ईश्वर हो ? ईश्वरांश हो ? आत्मा हो ? तत्व हो या अतत्व हो ? यो निक्कै गम्भीर प्रश्नले पनि सोच्न बाध्य गरायो ।
यो आवाज नै त हो जीवन
यो आवाज नै त हो आत्मा
यो आवाज नै त हो ब्रह्माण्ड
यो आवाज नै त हो ब्रह्म
यो आवाज नै त हो सत्य
यो आवाज नै त हो सम्पूर्ण
ॐ नाद ब्रह्मणे नमः -- "आवाज" कविताबाट
शब्द या ध्वनीको उत्पति नादबाट हुन्छ । नाद दुई प्रकारको हुन्छ, आहत नाद र अनाहत नाद । कुनै बस्तुलाई अर्को बस्तुले ठोक्दा त्यसबाट ध्वनी निस्कन्छ, त्यसलाई आहत नाद भनिन्छ । मानिसले बोल्दा भित्रको हावा गएर स्वरतन्त्रिमा ठोकिन्छ र त्यसबाट ध्वनी निस्कन्छ । शक्ति प्रयोग गरेर निस्कने ध्वनीलाई आहत नाद भनिन्छ । तर आँखा कान बन्द गरेर एकान्तमा बस्दा पनि हामीले केही सुनिरहेको अनुभव गर्दछौ, यसलाई अनाहत नाद भनिन्छ ।
भनिन्छ सृष्टिको सुरुवात् ॐ को नादबाट भएको थियो । बेज्ञानिकहरु पनि महाबिष्फोट पछि पृथ्वीको सृष्टि भएको मान्छन् । सङ्गीतको सुरुवात पनि नादबाटै हुनेभएकोले ॐ नादलाई नै ब्रम्ह मानिछ । त्यसैले आवाज नै सत्य र सम्पूर्णको बिवेचनाले मेरो हृदय छोयो ।
ऐना झुटो बोल्दैन
पीठमा
सत्यको रातो र
निर्भीकताको कालो लेपको
धाप जो पोतिएको हुन्छ -- "सत्य" कविताबाट ।
सत्य रातो हुन्छ । निर्भयीहरुले आँखा चिम्लन्छन् र आँखा चिम्लदा अध्यारो हुन्छ, अर्थात् निर्भिकता कालो हुन्छ । सत्य (उज्यालो) को पछाडि छायाँ समान निर्भिकता हुन्छ । पूर्वीय दर्शनको यो सानो अंशले पनि मन छोयो ।
सृष्टि डिम्ब नारी अस्तित्वमा छ -- "वंशलोचन" कविताबाट ।
सृष्टि नारी (पोथी जाति) बाट मात्र सम्भव छ । पृथ्वीलाई नारी मानिन्छ, नदीलाई नारी मानिन्छ । जलचर, थलचर, उभयचर या किराहरुमा पनि सृष्टि पोथीले नै गर्दछे । पुरुष त सृष्टिको लागि साधन मात्र हुन् । सृष्टि डिम्ब नारी अस्तित्वमा मात्र हुने कथनले पनि मेरो चेतना खुलायो ।
पृथ्वी एक विशाल शून्य हो
ब्रह्माण्ड आफैँमा शून्य छ
सत्य
केवल शून्य -- "शून्य" कविताबाट ।
शून्यवाद बुझाउन पर्याप्त यी हरफहरुले पनि मलाई सोचमग्न बनायो ।
‘रैदास’ जुत्ता सिउँथे
पेसा थियो उनको
रोटी पाउँथे
त्यसैले श्रद्धा गर्दथे
श्रद्धाको चरम गुञ्जनबाट
सन्तोष अवतरित हुन्छ
उद्भवित सन्तोष
आनन्दका लाखौँ द्वार खोल्छ -- "आनन्द" कविताबाट ।
सन्त रैदासको वास्तविक नाम रविदास थियो । यिनी कबिर जस्तै सन्त रामानन्दका चेला थिए भने मीराका गुरु थिए । पेसाले चर्मकार सन्त रैदास जुत्ता सिउँथे र आफ्नो कर्मलाई श्रद्धा गर्दथे र त्यसैबाट सन्तोषको अनुभव गर्दथे । सन्तोषम् परं सुखम् लाई पुष्ट्याउन रैदासको उदाहरणले निक्कै मन छोयो ।
बज्रसत्य
मृत्यु
स्वर सप्तकमा तरङ्गित हुँदै
प्रत्येक श्वासप्रश्वासमा
अजपा मन्त्रझैँ
अलापित भइरहन्छ -- "मृत्यु एक कविता हो" कविताबाट ।
स्वरहरू सात प्रकारका हुन्छन् जसलाई सङ्गीतमा षड्ज, ऋषभ, गान्धा, मध्यम, पञ्चम, धैवत र निषाद गरेर सात स्वरमा बिभाजन गरिएको हुन्छ । मानिसले बोल्दा या गाउँदा यी सात मध्ये कुनै एक स्वर प्रयोग गर्दछ ।
मानिसले सास फेर्दा नाकबाट बहने वायुले दुईवटा स्वर निकाल्दछ, सास लिँदा स्व र फाल्दा हं स्वर निकाल्ने भएकोले यी दुवै स्वरलाई स्वहं मन्त्र भनिन्छ । यो मन्त्र उच्चारण बिना पनि निस्कने या जप्नु नपर्ने भएकोले यसलाई अजपा मन्त्र पनि भनिन्छ । जीवले जन्मसँगै मृत्यु पनि बोकेर आएको हुन्छ र सास लिँदा या फाल्दा पनि मृत्यु अजपा मन्त्रझैँ गुन्जिरहेको हुन्छ । यो कवितांशले पनि मलाई निक्कै छोयो ।
तिम्रो नाम
पवित्र अक्षरहरूको माला
जसमा सुमेरु समान तिम्रो माया -- "सुमेरु तिम्रो नाम" कविताबाट ।
मन्त्र जप्ने मालामा एकसय आठ दाना हुन्छन् र ती दानाहरुको जोड माथि पनि एउटा दाना हुन्छ जसलाई सुमेरु भनिन्छ । सुमेरुसँग गरिएको यो तुलनाले पनि हृदय बिभोर बनायो ।
माथि उल्लेख गरिएका पाटाहरु निश्चय नै मनमोहक, ज्ञानबर्धक र सफल प्रयोगको रूपमा मैले लिएको छु । कविता पढदै जाँदा कतिपय स्थानमा जोड छुटेको हो कि ! जस्तो पनि लाग्यो, कतै केही सम्पादन गरिएको हो कि ! जस्तो पनि लाग्यो ।
यस बाहेक कवि तुलसी दिवसले बिमोचनका दिन, "पहिलो कृति नै यति सशक्त रूपमा आएको मा म स्वागत गर्दछु," भन्नुभएको कुरा सम्झन्छु, र म पनि स्वागत गर्दछु ।
By Bipul B Sijapati {https://www.facebook.com/groups/kavitakritihru/permalink/357546661064322/ }

No comments: