भर् जन्म घाँसतिर मन दिई धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भै कन आज यस्तो !
उपनिषदको एक शुक्तमा भनिएको छ, "अँध्यारोलाई सराप्दै बस्नु भन्दा एउटा दियो बाल्नु असल हुन्छ ।" अँध्यारो आज्ञान हो तर यही अँध्यारोमा ज्ञानको बीज हुन्छ । एकैछिन् अँध्यारोमा रुमल्लिएर चिन्तन गर्ने हो भने उज्यालोको सूत्र पत्ता लाग्छ । दरिद्र घाँसिको बोलि त अँध्यारोमा चिन्तन गर्दा चकमकबाट निस्किएको उज्यालोको सूत्र मात्र थियो, सल्काउन मागिएको आगो मात्र थियो, तर भानुभक्तले आफ्नो सारा जीवनलाई इन्धन बनाएर दियो सल्काए, ज्योति छरे ।
जीवनको उपादेयता के हो, जीवनमा हासिल गरिने मुख्य उपलब्धि के हो ? कतै पढेको थिएँ, मानिस जन्मसँगै मृत्यु पनि बोकेर आउँछ तर फेरि पनि मानिस मर्न चाहँदैन । आखिर मान्छे किन अजम्बरी हुन चाहन्छ ? यो प्रश्नको कुनै उत्तर त छैन तर पनि मानिस मृत्यु पश्चात् पनि बाँच्ने कोसिस गर्दछ ।
एकताको किल्ला सबैभन्दा सुरक्षित हुन्छ, यो न भत्कन्छ न यसमा बस्ने मानिस कहिल्यै दुखी हुन्छन् । भानुभक्त नेपाली एकताका पहिलो सुत्राधार हुन् । उनले भाषाको माध्यमबाट सारा नेपाल र नेपाली भाषीलाई एकै सूत्रमा बाँधे । भानुभक्तले पनि मृत्यु पश्चात् पनि बाँच्ने कोसिस गरे, जीवनभरको प्रयत्न पश्चात् नेपाली समाज र नेपाललाई आज सम्म ऋणी बनाउँदै नेपालीहरूलाई एकताको सूत्रमा बाँधे । निश्चय नै भानुभक्तको यो महान् कार्य नेपालीहरूको लागि उनलाई अजर अमर बनाउने सर्वसुन्दर कार्य हो । उनको यो देनमा हामी आजसम्म नतमस्तक हुँदै उनलाई हृदयले सम्झिरहेका छौँ । आफ्नो अजम्बरी हुने उदेश्यमा उनी सफल भए र आजसम्म बाँचिरहेका छन् र जबसम्म एकजना पनि नेपाली भाषी जीवित रहन्छ, भानुभक्त बाँचिरहनेछन् । मेरो बिचारमा आज भानुभक्त हरेक नेपालीको हृदयमा मृत्युपछि पनि जसरि बाँचिरहेका छन् , उनको यो बाचाई उनको भौतिक जीवनको भन्दा पनि सुन्दर जीवन हो ।
डा. सर्वपल्ली राधाकृष्णनले भनेका छन्, साहित्यको काम केवल ज्ञान दिनु मात्र होइन्, अपितु एक नयाँ वातावरणको श्रृजना गर्नुपनि हो । निश्चय पनि भानुभक्तले ज्ञानमात्र दिएर गएका छैनन्, उनले नेपाली समाजको रुपमान्तरण समेत गरेर गएका छन् ।
मानिस कीर्तिले अमर हुन्छ कृतिले प्रख्यात हुन्छ । भानुभक्तका सम्बन्धमा यी दुवै कुरा लागु हुन्छन् । उनका कृति र योगदानकै कारणले आज हरेक नेपालीभाषिहरु भाषाको कारणले एकसुत्रमा बाँधिएका छन् र यो अनन्त कालसम्म चलिरहने छ ।
भानुभक्त भक्तिकालका प्रमुख रचनाकार हुन् । निश्चय नै रामायण भक्तिधाराबाट प्रेरित भएर लेखिएको थियो तर यसले एक आदर्श समाज र राष्ट्रनिर्माणमा अग्रणी भूमिका खेलेको छ । संस्कृत पढन सबैलाइृ अनुमति नभएको बेलामा आफ्नो कूलपरम्परा र अध्ययन अनुसार उनले संस्कृतमा पनि रामायण लेख्न सक्थे तर बहुजन हिताय भन्ने सारलाई अंगिकृत गर्दै सरल र सरस नेपाली भाषामा नै रामायण लेख्नुले उनी सबैका साझा बन्न पुगेका हुन् । हरेक जात र वर्गका नारी र पुरुषहरुले समेत सरल सुललित रामायणको पाठ गर्न पाउनु निश्चय पनि ऐतिहासिक तथा शैक्षिक क्रान्ति नै मान्नु पर्द छ, जसको वीजारोपण भानुभक्तले गरे ।
अहिले सङ्कीर्ण वैचारिक मतभेद गर्दै भानुभक्तलाई राष्ट्रिय कवि भन्दै या जातीय कवि भने पनि उनी वास्तवमा नेपालीभाषाका आदि कवि नै हुन्, यसमा दुईमत छैन । नेपाल भन्नेबित्तिकै नेपालको भौगोलिक एकिकरण गर्ने पृथ्वीनारायण शाह र भाषिक एककिरण गर्ने भानुभक्त नेपालको अस्तित्व रहेसम्म महानायककै पदले बिभूषित भई नै रहन्छन् ।
घाँसिको प्रेरणा सत्य होला नहोला त्यो अनुसन्धानको विषय हो । घाँसि त साधन मात्र थिए, साध्य होइन, घाँसिको स्थानमा जो कोहीले पनि कुनै न कुनै दिन भानुभक्तमा भएको शक्तिलाई जगाउने नै थिए । ढुङ्गाको कापो फोरेर पनि उम्रन्छ पिपल, श्रृजनाशक्ति कहिल्यै पनि हुँदैन विफल भनेझैँ भानुभक्तमा श्रृजनाशक्ति थियो र नै उनले त्यतिबिधि श्रृजना गर्न सके ।
भनुभक्तलाई साधारण कविमात्र होइन युगबोधी र परिवर्तनको शंखघोष गर्ने प्रथम वैचारिक कवि पनि मान्नुपर्दछ । भलै उनले भोलि भोलि भन्दैमा सब घर बितिगयो भनेर कोमल भावमा आफ्नो गुनासो फोरे तर त्यसमा निहित विद्रोह, परिवर्तन र जनचेतना फैलाउने लावालाई नकार्न सकिन्न ।
बधुशिक्षालाई अहिले आएर नकारात्मक रूपमा लिने गरिएको छ । मेरो निवेदन र जिकिर के हो भने हामीले आजको मानसिकता र परिवर्तनलाई त्यागेर भानुभक्तकै समयमा फडको मारेर त्यही समय र अवस्थालाई अध्ययन गर्ने हो भने त्यो बेलाको संस्कार, आदर्श, प्रचलन र व्यवहारका आधारमा उनी गलत कदापि होइनन् न त उनको वधुशिक्षा नै । उनले त्यसवेलाको धर्म, संस्कार, व्यवहार र नारी कर्तव्यको जुन परिचय त्यसवेलाका नारीलाई बधुशिक्षा मार्फत् दिन खोजेका छन् त्यो निश्चय नै अव्दितिय छ । त्यतिवेलाको एक आदर्श समाजको परिकल्पना गरेर नारीलाई कर्तव्यमुखि बनाउन वधुशिक्षा आवश्यक र फलदायी थियो भने आज पनि यो धेरै हदसम्म उत्तिकै अनुकरणीय छ । किनभने शिक्षित र आदर्शवान नारीबाट नै परिवारको सुधार सुरु हुन्छ र परिवारबाट समाज अनि देशकै सुधार हुन्छ ।
भानुभक्तका रचनामा ठेट नेपाली शब्दहरुमात्र नभएर त्यतिवेला प्रचलनमा रहेका थुप्रै आगन्तुक शब्दहरू पनि प्रयोग भएको छन् । यो पनि भानुभक्तको नेपाली भाषालाई उन्नत बनाउने कार्य हो । नेपाली बोलिचालिमा भएका हिन्दि, फारसि, अरबि र अन्य भाषाका शब्दहरूलाई उनले लिपिबद्ध गरेर भण्डारण गरिदिए, त्यसलाई नेपाली जामा लगाइदिएर नेपालको बनाइदिए ।
सयौँ पुस्तकको अध्ययन पश्चात् निचोडमा एक पुस्तक निस्कन्छ । भानुभक्तले आफ्ना कृतिहरु मार्फत भाषा साहित्य मात्र होइन् नेपाली संस्कृतिलाई पनि जीवित राख्ने काम गरे । नेपाली जनसमुदायलाई धर्म र दर्शनको बोध गराईदिए । परम्परा, चरित्र, मर्यादा र प्रेम र कर्तव्यका बारेमा छर्लङ्ग पारि दिए ।
भानु यिनै अमरत्व पाइने अनुकरणीय योगदानले भानु भएका हुन् ।
जय भानु जय साहित्य ..
समा श्री
।
No comments:
Post a Comment