Monday, October 24, 2016
Friday, October 14, 2016
भूमध्यसागरबाट काठमाडौ सम्झेर
प्रिय काठमाडौँ
विदुतिय सञ्चारको यति बलियो माध्यम हुँदा हुँदै पनि मैले लेखेको यो हस्तलिखित पत्र देख्दा र पढ्दा तिमीले अचम्म मानिरहेको कुरा म महशुस गरिरहेकी छु । या तिमी उदेक पनि मानी रहेका होलाउ किन सादा पानामा मसीका पढ्न मिल्ने बुट्टाहरु झिँझो नमानीकन लेखेर पठाई यो साथीले भनेर । तिमीसँग दिन नबिराई हुने च्याटका वावजुद,
प्रत्यक्ष कुराकानीका अलावा पनि यसरी कागजमा आफ्ना भावना पोख्दा मैले कस्तो सुखानुभुती गरेकी छु, त्यो सम्पूर्ण खुलेर भन्न त सक्दिन । तर अक्षरहरु खाली पानामा लेखि रहदा म तिम्रो अनुहारमा झल्कन जाने विभिन्न भावहरुलाई प्रतेक अक्षरमा प्रष्ट अनुभूत गर्दै छु । यस्तो लाग्दैछ मानौ, म तिम्रा अगाडि अक्षर भएर उभिइ रहेकी छु र तिमी निर्वादसँग मलाई अक्षर अक्षर पढि रहेका छौ । के यो आफ्नै प्रकारको अनुभव र अनुभूति होइनन् र ?
प्रिय काठमाडौँ, रेखाहरू सरल पनि हुन्छ्, बाङ्गाटिङ्गा पनि हुन्छ् । ग्लोबको त्यस ठाउँबाट यस ठाउँलाई सरल रेखाले पनि जोडन सकिन्छ र वायुमार्गका बाङ्गाटिङ्गा रुटहरूबाट पनि जोड्न सकिन्छ । तर खै किन हो कुन्नि, सायद तिमीसँग सरल आत्मीय रेखाबाट जोडिएकोले भएर पनि होला, मलाई सरल रेखाबाट नै तिमीसँग जोडिन मन लाग्छ । सरल सोझो रेखा हेर्दा सामान्य देखिए पनि यो आफ्ना एक एक घर, एक एक कोठामा मधुर गुञ्जन बोकेर चुपचाप बसी रहने कुनै विणाको तार जस्तै हुँदो रहेछ । नचलाईएका यिनै एक लम्ब तारहरूका कोठामा तिमीलाई भेटने, तिमीलाई हेर्ने, सुम्सुमाउने र आत्मसात गर्ने चाहनाहरु यता बर्षौँदेखि कैदी भएर नबसेका होइनन्, छन् । उता तिमीले जतन गरी राखेका तिम्रा अनुरोध, घुर्की, माया, वास्ता र मोह आदिले पनि मलाई बारम्बार नघचघचाएका, नपिरोलेका र नबिझाएका होइनन्, मनग्गे छटपटाइ दिएका थिए, छन् । वातयाममा म झंकृत भएर हरबखत तिमीलाई भेटन चाहनाको भ्रुण कोखमा पालिरहन्छु । तर जति पटक यो भ्रुण हुर्केला जस्तो हुन्छ, त्यति पटक नै विवषता आएर हरिताल पिउन बाध्य बनाउँछ र मेरा रहरका भ्रुणहरू तुहिइ रहन्छन् । जीवन सरल देखिन्छ मात्र, सरल कहिल्यै बनिदिँदैन । यसपालि तिमीलाई भेटने मेरो उत्कट चाहनाका भ्रुणको फेरि अधिग्रो गएको छ । त्यसैले त व्यथित म मेरा अधिग्रो गएका सपनाहरूको रङ्ग कागजमा लेप्दै छु नि ।
छैन छैन, मलाई बातयामको मोह पटक्कै छैन । आमाको काखभन्दा मनमोहक स्वर्ग त हुँदैन भने बातयाम र तिम्रो के तुलना र ! रहरले पुगेकी भए पो यसको सौन्दर्यमा सम्मोहित भएँ भन्नु ! त्यसो पनि त हैन । फेरि एक मनले तिमी विदेशिएपछि सबैका आँखामा पैसा लिसोझैँ टाँसिन्छ पनि भन्दा हौ । तर हाय मेरो दुर्भाग्य र विवशता ! हाम्रो लागि यतातिरको ए.टि.एम. पनि कुनै कार्डले खुल्दैन, पसिनाले बेस्सरी चिस्याएपछि मात्र अलिकति उघ्रेको जस्तो भईदिन्छ । हो, यति नै वेला मलाई डेबिड कार्ड प्रयोग गर्नेहरूका हात चटकीका जादु देखाउने तिलस्मी हातझैँ लाग्छन् ।
प्रिय काठमाण्डौं, मैले छोडेदेखि अचेल त तिमी निक्कै फेरीएकी छ्यौ अरे त ! असनको गल्लीमा डुल्ने हजारौँ मीठामीठा अनुहारहरू भावनाशून्य भएर चलायमान मात्र देखिन्छन् अरे । साँच्चै के ले खोस्दैछ ती ओठका आवारा मुस्कानहरूलाई ? केले उडाइ दिँदैछ आँखाका ती अबोध चमकहरूलाई ? मान्छे किन भीडमा पनि नितान्त एक्लो बन्दैछ । किन संवेदनाहीन हुँदैछन् तिम्रा आँगनमा डुल्ने पाहुनाहरू ? कसले हृदय निकालेर निश्पृह यन्त्र राखी दियो मानिसको छाती भित्र ? कहाँ हरायो तिम्रो चपलता ? तिम्रो बोलाईमा पनि स्वार्थको कुहिगन्ध आउन थालेको छ अरे । परदेशको जिन्दगी त यान्त्रिक हुन्छ भनेर तिमीले नबुझेका होइनौ तर सन्चो बिसन्चोको एउटा औपचारिकताका शब्दहरूलाई पनि तिमीले आफ्नो शब्दकोषमा जसोतसो मात्र ठाउँ दिएका छौ अरे । के अब तिम्रो र मेरो सम्बन्ध र आत्मियता केवल सपिङ लिस्टमा मात्र सीमित भएको हो त ? तिम्रो कुराकानी केवल यहाँका मलहरुमा गुञ्जिने विलासी महंगा ब्राण्डेड सामानका चाहनाको गनगन मात्र हुन त ? मान्छे एक्लिदा त्यसका अन्तरआत्मा कति कमजोर हुन्छ भनेर तिमीले बुझेका छौ ? यन्त्रवत जीवनलाई चलाई रहँदा तिम्रा सबै फुर्माइसका ध्वनीहरू पराध्वनीत भएर मेरो एकलासे अपार्टमेन्टमा ठोक्किदा पीडाहरूका सुनामी आँखाबाट त्यसै त्यसै छचल्किन्छन् । मसान्तमा हातले केलाउने पैसाका निधारमा म आफैलाई निचोरेर तिम्रा छाकल टार्ने र लाज छोप्ने मन्त्र बाहेक अरू केही लेखेर पठाउन सक्दिन । मलाई उदेक लाग्दैछ काठमाण्डौँ,
के तिमी पनि रेमिट्यान्सको परजीवी भई सक्यौ र ! परजीवीको आफ्नै मृत्यु त हुँदैन काठमाण्डौँ ।
प्रिय काठमाण्डौ, मेरो बिन्ती सुनेर मलाई बुझिदिने कोशिश त गर । म त मान्छे पो हुँ, संवेदनाहीन पत्थर त होइन नि ! हिजोसम्म सोचेकी थिएँ, तिमीलाई मेरो दुख किन बिझाउँ भनेर । तर अब तिमीले बुझ्नै पर्छ काठमाण्डौँ, खण्डहर बन्दै गरेका मेरा जीवनका प्रतेक दिनहरूलाई । छैन, यहाँ कुनै हरिया डाँडा पनि छैन र सुस्ताउने कुनै चौतारी पनि छैन । यहाँ हरेक पूर्णिमामा व्रत बस्न सकिन्न, घन्टौं एक्लै आफ्नो कोठाको झ्यालबाट सकुन्जेल र देखिन्जेल चुपचाप जुन नियाली बस्न मात्र सकिन्छ । योसेफताल स्ट्रीटबाट भूमध्यसागर बिस मिनेटको पैदल दुरिमा छ,
जहाँ म अकसर पुगिरहेकि हुन्छु । समुन्द्रको तटमा बसेर क्षितिज नियाल्दै गर्दाको समय मनसागरमा ज्वारभाटा चल्न सुरु हुन्छ । त्यसले मच्चाउने उथलपुथलको भनकसम्म पनि काठमाडौ पुग्ला भनेर म निक्कै सचेत हुन्छु । चिसोले गाँजेको बेला पानी तताइ दिने हातको अभावमा रोईरहदा या बातयाममा बेलाबेलामा थला परेर मन कुँडिएको गुनासो आफैलाई बाहेक अरूलाई सुनाउन सकिन्न । यी यावत कुराहरूले मनको अशान्त एक्लो सागरमा शैवालहरू बढेर उकुसमुकुस बढ्न थालेपछी सम्झिरहने काठमाडौ पनि बिर्सिउँ बिर्सिउँ जस्तो मन हुन्छ । गर्न त यो मन धेरै याद गर्छ मेरो आफ्नै घरलाई, आफ्नो ओछ्यानको न्यानोपनलाई र तिमीलाई पनि काठमाण्डौँ, तर तिमीले पनि त एक झल्को मेरो मनको एकांकीपन बुझिदिने कोशिश गरेको भए हुन्थ्यो नि ! हैन र ?
अब त एकलासे भएर बस्ने बानी परेछ काठमाण्डौ । खोइ किन हो हिजोआज बिर्सिदै गइरहेको मेरो आफ्नै भान्छाको मीठास, चाडबाडको रमझम, भीड्भाडको प्यारो होहल्ला र आफन्तको भेटघाटको न्यानो सबै दन्त्यकथा जस्ता लाग्न थालेका छन् । हजारौ माइल पर आएर जिन्दगीलाई आफैले बन्धक बनाए छु जस्तो पनि लाग्छ । तर,
एउटा स्वतन्त्र परिवेशको आदी भैसकेको मेरो मन मस्तिष्क केवल के आफ्नो लागि मात्र बाँच्न चाहान्छ अब ? काठमाण्डौँ, अचेल यस्ता अनेकन प्रश्नहरुका माकुरे जालोमा जिन्दगी किन रुमल्लिदै छ, म आफैले भेउ पाउन सकेकी छैन ।
प्रिय काठमाण्डौँ, तिमी त दसैँको छनकमा नाच्न थालिसकेकी हौली । मेरो गुनासोसँग तिम्रो खुसीको के सरोकार होला र । पहिलो तारिखको पैसा पठाएको खबर मात्र कान थाप्ने तिमीलाई मेरा यी खण्डहर भोगाइका गाथाले बित्थैँमा तितो बनाइँ दिएँ । त्यताको दसैँको मनतातोले यहाँ पनि मधुर रोमाञ्च नल्याएको त हैन । मन भन्छ, केही मौनताहरूले सम्झेका होलान्, माया गरेर हाल खबर सोधेका होलान्, तर खै मेरो मन बुझेको तिमीले, मेरो आफ्नै भएर पनि काठमाडौ ? यतिखेर भूमध्यसागर आफ्नै धुनमा व्यस्त र मस्त छ, सप्तान्त मनाउदैछ, र म बातयामको उही नितान्त एक्लो अपार्टमेन्टको बोझिलो कोठामा आफैसित दसैँ मनाउँ भन्दैछु । मन बलियो भएमा केही हरिया जमरा मेरा कवितालाई लगाइ दिनेछु र राता अक्षताले अनुभूति र पीडालाई रंग्याउने बिचार गरेकी छु ।
प्रिय काठमाडौ, तिम्रो जवाफ पाए यो भूमध्यसागरको बातयामले, मेरो एक्लो अपार्टमेन्टको एकान्तले दसैँमा साथी पाउने थियो ।
समाश्री
हाल : बातयाम इजरायल
हाल : बातयाम इजरायल
Subscribe to:
Posts (Atom)