छोरी र धर्काहरु
अनवरत
केही लेख्ने धूनमा
धुलाम्मे आँगनलाई
पाटी बनाउँदै
हाँस्दै गुन्गुनाउँदै
मेरी सानी छोरी
केही कोर्छे, फेरि मेट्छे
धर्काहरुमा शायद
सपनाहरु तुहिए होलान्
र त मेट्छे
विषाद भरिएका धर्काहरु
धर्काहरु समयका पदचिन्ह हुन्
धर्काहरु जीवनका छाप हुन
धर्काहरु
उच्छवास र निश्वासका
लामो लर्का हुन्
धर्काहरु
मेरो निधारमा पोतिए जस्ता
धर्काहरु
मेरा हत्केलामा छापिए जस्ता
कहिं जोडिएर बिलाएका
मेरा हत्केलामा छापिए जस्ता
कहिं जोडिएर बिलाएका
कहिं मात्र हल्का देखिएका
शिर माथिको चर्को घाममा
उसले कोरेको धर्काहरु
दाँज्दी हो
मेरा निधार र हत्केलाका
धर्काहरुसंग
नूतन सपना बोकेका आँखामा
यी बांगाटिंगा धर्काहरु बिझाउँदा हुन्
र त मेट्छे
पुरातन धर्काहरु
धर्काहरु
भाग्यका मापक होईनन्
धर्काहरु
नियतीका द्योतक होईनन्
धर्काहरु
साश्वत छैनन्
समयसंगै बदलिन्छन्
समयसंगै घट्छन, बढछन्
उसले
नास्तिक धर्काहरुमा
रुमल्लिनु हुन्न
धर्काहरुमा मात्र
जेलिनु हुन्न
अधीर म,
आमा
पिंडीबाट उठेर गई
मेरा जिन्दगीका
जोड घटाउको निचोड र
एक पुस्ता ज्ञान
हस्तान्तरण गर्न
उनलाई सिकाउन चाहन्छु
उँभोगामी धर्का कोर्न
मात्र
उँभोगामी रेखा कोर्न ||
June 19, 2012
June 19, 2012
No comments:
Post a Comment