Share Bottom

Wednesday, August 14, 2013

कविता >पहिचान


पहिचान

कहिले काँही
आफ्नै अनुहार चिथोर्न मनलाग्छ
उस्ले नदेखेको म देखाउँन
सायद अनुहारको मुखौटा भित्र
अर्को कुनै "म" छ कि
या त
चिथोरेर फालेपछि
म भित्रको
अर्को "म" निस्कँदा
उस्ले चिन्ला कि !

म नङ्ग्रा तिखार्छु
आफ्नै अनुहार चिथोर्न
नङ्ग्रामा प्रण थुपार्छु
शङ्का त फेरी
उस्तै छ
चिथोरेर हेर्दा
भित्र कुनै "म" निस्किएन भने
या फेरी
निस्किएको अर्को "म" लाई पनि
उसको उपेक्षाले चिन्दैन कि !


मेरो एउटा अनुहार छ
अनुहार भित्र
अर्को अनुहार नहुन पनि सक्छ
अर्को अनुहार हुन पनि सक्छ
अनुहार नभए म हुन्न
अनुहार भए ?
अहो !
अनुहार भए फेरी कसलाई "म" भन्ने
पुरानो म र नयाँ "म" बिच
कुन चाही म बास्तविक "म" ?
दुई अनुहारको "म" बिच
अस्तित्वलाई लिएर युद्ध हुन सक्छ
युद्ध दुई म बिच
जिते पनि दुख्ने म
हारे पनि दुख्ने म
कठै !
मेरो चिनारी
तिमीसम्म पुग्नै पर्छ र ?
तिमीले मलाई चिन्नै पर्छ र ?
तिमीले चिन्दैमा मेरो बिस्तार हुँदैन
तिमीले न चिने पनि मेरो संकुचन हुँदैन
म किन चिथोरुँ आफ्नो अनुहार ?
भो ss
अब म
खोजिखोजि
तिमीले नचिनेका समय चिथोर्छु
तिमीले नबुझेका समय चिथोर्छु
आज
भए पनि नभए पनि
म भित्रको "म"
मैले यथावत राखेँ ||
December 18, 2012 

No comments: