Share Bottom

Friday, November 1, 2013

कविता - सत्य

कविता - सत्य


ऐना झुठो बोल्दैन

पीठमा

सत्यका रातो र

निर्भिकताका कालो लेपको

धाप जो पोतिएको हुन्छ

प्रतिबिम्ब देख्ने आँखाहरु

मस्तिष्कबाट चलायमान नभए

मस्तिष्कमा सर्तहरु नभए

सर्तहरुमा स्वार्थहरु नभए

स्वार्थहरुमा निजत्वको बादल नभए

घनत्वहीन बादल

कतिञ्जेल टिक्न सक्छन

जब सत्यका किरणले बेधेर

छिन्नभिन्न पार्दछ

तब

सत्य सुन्दर देखिन्छ

अद्भुत, अलौकिक



दृष्टि त तेजिला छन्

दृष्य प्रष्ट छैनन्

हुस्सु लागेका छन् आँखामा

पहिलो झुठको अङ्गार

धुलो भएको छ

धुलोका करोडौं कणबाट बनेको

बाक्लो एक तह कालोपत्र

टम्मै छ चेतनामा

नखुर्किदा

कुहिन थाले

किरा पर्न थाले

हजारौं हजार किराका पहाड

दम्भ बनेर ठडिएको छ

भित्र

धमिराले झैं

चेतनालाई चपाईरहेछ

बिलुप्त पारेको छ चेतलाई

र बिध्वंश हगिरहेछ

आगो ओकलिरहेछ

आगो आफैमा

श्रृष्टि पनि

बिनाश पनि



कर्कलाका पातमा टल्पलिएको पानी

आँखाको लागि मोती पनि

फगत ओस मात्र पनि

बिम्बहरु पहिचान होईनन्

बिम्बहरु सार होईनन्

बिम्बहरु अस्तित्व पनि होईनन्

केहि हाईनन् बिम्बहरु

पानी फोकाका बाहिरी परत मात्र

ईन्द्रेणीका पारदर्शी रंग मात्र

मृगतृष्णा

मात्र मृगतृष्णा हुन बिम्बहरु

बिम्बहरु मेहरोझैँ

जगतभरि फैलिएको छ

मेहरोले सूर्य ढाकेको छ

आत्मबल हावा हो

हिम्मत बतास हो

कोशिस आँधी हो

दृढशंकल्प फुँकाई

मेहरो हटाउँछ

सत्य

हजारौं सूर्यझैँ चम्कन्छ

No comments: