कविता -- पानीको रङ्ग
जबजब वर्षात हुन्छ
मलाई
पानीको रङ्ग खुट्याउँन मनलाग्छ
दैलाका दुईछेउमा
मङ्गल कलशभरि जल
तर
जल भर्न वर्जित
बाबाका आँखामा तैरने शीत
आमाका नयनले खसाल्ने अभिषेक
दाजुभाइका चक्षुले छर्कने सेचन
दिदिबहिनीका लोचनले भिजाउने कामना
आफन्तका दृष्टिले दिने आशिक
किन रंगहिन बर्षन्छन् !
मलाई
पानीको रङ्ग खुट्याउँन मनलाग्छ
मलाई
पानीको रङ्ग खुट्याउँन मनलाग्छ
त्यसैले
नवव्याहताका मनमा पसेर
मनका भाव छाम्न मनलाग्छ
मस्तिष्कमा रङबङ्गिएका
अनुभूतिका लहर खोतल्न मनलाग्छ
सोध्न मनलाग्छ
नयाँ जीवनको उमंग
मनोवांछित जीवनसाथिको प्राप्तिमा
झरेका हरेक बुँद आँसु
किन रंगबिहिन हुन्छन् ?
मलाई
पानीको रङ्ग खुट्याउँन मनलाग्छ
उमंग र बिषाद बिचको संघारमा
जब नवव्याहता उभिन्छे
पिताका रक्तिम-नेत्र
माताका ममतामयी नयन
दाजुभाइका प्रहरी-चक्षु
आफन्तका मङ्गल-आँखा
सखिहरुका कामना-लोचन
दुलही सँगसँगै बिदाइमा
किन रंगबिहिन भिज्छन् ?
मलाई
पानीको रङ्ग खुट्याउँन मनलाग्छ
No comments:
Post a Comment