कविता -- जवाफ
बाटोमा
लत्याइने पत्थरलाई
प्रेमपूर्वक उठाउँछु
र पर
सुरक्षित ठाउँमा सार्छु
जहाँ
कुनै खुट्टाले लत्याउन सक्दैन
यो मनले
बुझेको छ
खवरदार !
पत्थरलाई नथिच्नु
आँसु निस्कन्छ
होसियार !
पत्थरलाई मायाले नसुम्सुमाउनु
भक्कानिन्छ
मन
सेती माथिको फाँट हो
भित्रभित्रै
कति धाँजा परेका छन्
कसले हेक्का राख्छ र
दिन पर दिन
कतै केही खिइँदै छ
कतै केही चोइटिँदै छ
उदासीमा
पारी हेर्छु
सम्झाउने आँखाहरू पनि
पारी
म जस्तै किनार भएको छ
म जस्तै
कटानका पिडा
टुलुटुलु हेरेर
आफ्नो पिडा बिर्सन्छ
मेरो पिडा सुम्सुमाउँछ
समय
किन दुई किनार लाई छोएर बग्छ !
किन दुई किनारलाई जोडेर बग्छ ?
सेतु बन्नु नै छ भने
मन जोडी दिनु नि
भाग्य जोडी दिनु नि
तृष्णा मेटिदिनु नि
अहँ
निष्ठुरी
केवल दुवै किनारमा
कटान मच्चाएर बग्छ
मन दुखाएर बग्छ
बिन्ती
खोला कसैको भाग्य नबनोस्
किनार कसैको नियती नबनोस्
कटानमा
के के दुख्छ भनेर
के के बहन्छ भनेर
उसलाई सोधे हुन्छ
मलाई सोधे हुन्छ
हामी हाँसेर
सँधै आँसु लुकाउँछौ
उत्तर यसैभित्र हुन्छ
जवाफ यतै कतै हुन्छ ।
No comments:
Post a Comment