उता
मन भित्र केही बेचैनी थिए
केही हलचल मच्चिएकै थियो
सरल जीवनका रेखाहरु
कम्पित भएर बाङ्गिएका थिए
अवश्य पनि
कहीँ कतै केहीले त
स्थिर जल चलाएकै थियो
लहरहरु उठेका थिए
तरङ्गहरु फैलिएका थिए
भुमरी पर्नसक्थे
आँधी हुनसक्थे
भत्काउन सक्दथ्यो
बिगार्न सक्दथ्यो
कति सहजै
आफैलाई सम्हाल्यौ
सबै सम्हालिए
र
निश्चिन्त भएर
आँधि सम्हालेर बर्षि दियौ
र भनिदियौ
"म तिमीलाई प्रेम गर्छु"
यता
वसन्त बाग भित्र फूल माथि
एकपत्र खडेरि फैलिएको थियो
पत्रपत्रका ओठ शुष्क थिए
आत्मा तप्त थियो
काकाकुल चाहनाले
मनका फाँटमा धाँजा पारेका थिए
बर्षातको पहिलो बुँद
सँधै माटो नै चुम्दछ
पहिलो बुँदको स्वाद
सँधै माटो नै चाख्दछ
बर्षात एक झरको भएपनि
कोरा पानाहरु लछप्प भिजे
हेर्दाहेर्दै पानाभरि
अदृश्य केही छापिन थाल्यो
अस्पष्ट केही देखिन थाल्यो
थामौँथामौँ जस्तो लाग्यो
रोकौँरोकौँ जस्तो लाग्यो
किन हो घूम ओढने चाहना भएन
किन हो ओत लाग्ने मन भएन
बर्षातका पानीझैँ
भित्र पनि केही द्रव छचल्कियो
रुझेँ भिजेँ निर्धक्क रमाएँ
अनि थाकेर मौन बसेँ
बाहिर
तिमीले फुकेका आँधी सुसाइ रह्यो
हलचल मच्चिइ रहे
निस्तब्धतामा
आत्माका त्वचामा लागेका दागहरु
म मीठो मानेर सुम्सुमाइ रहेँ
यता अनि उता
केही बौँरिए
यता अनि उता
केही उम्रिए
यसका मगमगाहट
मीठा हुन थाले
यसका स्पर्श
मुलायम लाग्न थाले
अविचलित स्वछन्दता
अब बोझ हुन थाले
प्यारो लाग्न थाले
अदृश्य मिहिन बन्धन
आकाश रित्तिन थाले
धरती सिँचिन थालिन्
फैलिन थाल्यो
अनुरागी चेतन
यता अनि उता
No comments:
Post a Comment