Share Bottom

Sunday, February 2, 2014

कविता – मौनव्रत

मलाई डर लाग्छ
छ्यो रोल्पा
चुपचाप, तिमीलाई हेरिरहँदा


मौनताको बर्को ओढेर
चुपचाप आफैभित्र फैलिएर
भित्रभित्रै आफैभित्र गुम्सिएर
नाभिभित्र आफैमा हराएर
के नाद गर्नको लागि
वेवाक्य छौ छ्यो रोल्पा ?
वाक्य फुटाउ छ्यो रोल्पा
मलाई डर लाग्छ
छ्यो रोल्पा
बेवाक्य, तिमीलाई हेरिरहँदा


तिम्रो मौनता भित्रका प्रश्नहरू
सम्बोधित नभएर
तिमी मौन भएकी हौ कि ?
आफैभित्र गुम्सिएका
बेखुसीका घाउहरुमा
मल्हम नपाएर
गुम्सिएकि हौ कि ?
या तिम्रो वेवाक्य ओठलाई
तिम्रो लाछिपन ठानिदिएकोले
तिमी नबोलेकि हौ ?
केही त बोला छ्यो रोल्पा
मलाई डर लाग्छ
छ्यो रोल्पा
कठोर चुप, तिमीलाई हेरिरहँदा


मैले बुझेको छु छ्यो रोल्पा
मौनता जब फुट्छ
तब
धेरै कुराहरू यत्रतत्र छरिन्छन्
आफैभित्र गुम्सिएका अन्तरद्वन्द
नाभिमा कोच्चिएका गुनासा
हजारौँ कठोर बज्र भएर
अघोर नाद गर्दै
प्रलय ल्याउँछ
तिमी भित्रका अन्तरद्वन्दले
कतै
मीठो पानीलाई
तेजाबमा त बदलिदिएन !
तिम्रा नाभिमा कोच्चिएका गुनासाले
कतै
बारुदको रूप त धारण गरेन !
तिम्रा बेखुसीका घाउहरु
कतै
पीपकुण्ड त बनेनन् !
तिम्रो ओठका मौनता
कतै
बिध्वंशको झिल्लि त होइनन् !
तिमी भित्रको मौन फैलावट
कतै
युगान्तकारी प्रलयको सूचक त होइन !


अबुइ ! अबुइ !
ए आओ न... घच्घचाओ !
ए आओ न... सुम्सुमाओ !
ए आओ न... उठाओ
ए आओ न... जगाओ !
ए आओ न.... व्युँताओ !
केही त गर जिउँदा लाशहरु !
अलिकति त डराउ मौनतासँग !


अबुइ ! अबुइ !
मलाई डर लाग्दैछ छ्यो रोल्पा
तिम्रो मौनव्रतसँग

No comments: