Share Bottom

Wednesday, January 8, 2014

कविता - श्रृष्टि र नारी

ऊ अर्थात

अपरिचित

ऊ अर्थात

नाम उदघोष गर्न नचाहने

ऊ अर्थात

प्रत्युत्तरको कामना रहित प्रश्नकर्ता

ऊ अर्थात

रोषक / परपीडक

ऊ बाउ हैन छोरा हैन

ऊ पति हैन भाई हैन

ऊ कोही हैन



मात्र पुरुष

जो युगौं देखिको

शप्त मस्तिष्कधारी

हात्ती छामेका अन्धाहरुको

अर्ध /अ/ सत्य

प्रचारक प्रसारक

नारी मोह हो

नारी माया हो



********************************

म नारी

सिद्धार्थको त्यक्ता

म नारी

रामको परिक्षा

म नारी

खलिल जिब्रानको मृत्यु

म नारी

सयौं मुनीहरुका कोप

कठै !

त्यक्तता पछाडीको सोच

आगो निलेर निस्केको ठण्डक

मृत्यु पछिको पुनरुत्थान

कोप पछिको शान्ती

कतै झुल्किनँ म नारी

उसको वाणीको तुच्छ कीरा



काल समय र श्रृष्टिलाई

भ्रमित बनाउँछ

काँप्दछ सत्य देखि

डराउँछ उज्यालो देखि

हठात्

उडानमा रोक लगाउँछ

जुनकिरीलाई

जो उड्दा मात्र चम्कन्छे

************************************



सहृदयी मित्र

वीरहरु

नारीले जनेका होइनन्

बनाएका हुन्

हृदयमा समाहित प्रेमबाट

निश्चय नै

बुद्ध र सिद्धार्थको बिच

यशोधराको उपस्थितीमा

बुद्ध हार्दथे

जयी रावण हुन्थ्यो

सीताले प्रेमाग्नी

राम हृदयमा नसल्काए



**************************************



नारी

चुपचाप गर्भ थाप्दै

श्रृष्टिलाई निरन्तरता दिन्छे

हरेक सन्तानका श्रृष्टिमा

आनन्दको सुमेरु चुम्नेले

आनन्दको पोको भित्रका पीडा भुले

उसका आँतका घाउहरु बिर्से

युगौं युग देखिको बिभिषिकालाई

राम कृष्ण बुद्ध इशाले पनि

मलहम मात्र लगाए

त्यो स्थान दिन सकेनन्

यो पाखण्ड

यो शिखण्डी परिधान

परित्याग गर्नै पर्छ

अनुभूत गर्नै पर्छ

दिपक बल्दा ज्वलनशीलता

न त तेलमा हुन्छ

न त सलेदोमा नै हुन्छ

ज्वलनशीलता

मात्र दृष्टिमा हुन्छ

यही उज्यालोमा स्विकार गर

साश्वत नारी अस्तित्व

शुप्त नारी लक्ष

नारीको लागि

बरदान श्रेष्ठ छ

बरदायक अ/पुजनिय

फगत् तुच्छ माध्यम मात्र

किन कि

उसलाई चुपचाप

श्रृष्टिलाई निरन्तरता दिनु छ

दिईरहनु छ ||

No comments: