Share Bottom

Thursday, January 9, 2014

कविता - मनको एक थुङ्गा फूल

फूल

तिमीलाई आज

मेरै हाँगाबाट चुँडेर

अन्जुली बाँधी चढाउँदै छु

त्यो पाउमा

जहाबाट तिम्रो

बिल्कुल नयाँ यात्रा सुरुहुनेछ







फूल

तिमी मेरो गमलामा

नअटाएकी हैनौ

स्नेहका हात भन्दा

ठूली भएकी पनि हैनौ

पत्तै भएन

कहिले काख भन्दा ठूली भैछ्यौ

तर मातृत्वको आँगनमा

कहिल्यै बढीनौ

अझै उस्तै छ्यौ

छुनुमुनु

सानी पुतली







फूल

तिम्रो कोमलताको लागि

तिम्रो अन्तरंग सौन्दर्यताको लागि

मन मुटु पोलिरहें

मालिको साथ लागेर

तिमीलाई घामबाट जोगाएँ

तापबाट जोगाएँ

तिमीलाई पानीबाट जोगाएँ

श्रापबाट जोगाए

सप्काहरु

निकै डढे, निकै भिजे

हजारौं सप्काहरु फेरिए

आज म

तिनै डढेका सप्काका खरानी

उजिल्याउँन मल्दैछु

तिनै भिजेका सप्काहरु

निचोरेर धुँदैछु

तिम्रा पाउहरु

कञ्चन बनाउन

जस्ले

सुवर्ण पाईलाहरु टेकुन

पखाल्दैछु

तिम्रा बाटाहरु

जोडी नयनका हर्षासुले







फूल

तिमीमा माटोको गन्ध छ

तिमीमा गमलाको आकार छ

नौधाराका सुबाष छन्

हामीले

तिम्रा हृदयमा स्नेह भरेका छौं

नसुतुन्जेल सम्म

तिमीलाई मीठा लोरी सुनाएका छौं

घतलाग्दा नैतीक कुरा भनेका छौं

फूल

अब तिमीले

नौधाराका बासना अन्तै छर्नुपर्छ

माटोको गन्ध अन्तै सार्नुपर्छ

गमलाका आकार अन्तै भर्नुपर्छ

हाम्रा लोरीका मीठास

अन्तै गुञ्जाउनु पर्छ

नितीका ज्ञानले

मन्दिरलाई स्वर्ग बनाउँनुपर्छ

हामीले जेपायौं

त्यही थपेर दियौं

जे सिक्यौ

त्यही छानेर सिकायौं

फूल

अब तिमीले

सप्को सम्हाल्नु पर्छ

सप्को भित्र फुल्नुपर्छ

फल्नु पर्छ फैलनु पर्छ

हाम्रा शिरहात सँधै रहनेछन्

फूल

अब तिमीले जिन्दगी बाँच्नुपर्छ ।

No comments: