Share Bottom

Tuesday, April 14, 2015

कविता -- किस्ने अर्थात् एक भोट

बाँचुन्जेल मान्छेलाई परिचयको लागि
नाम मात्रै पर्याप्त हुन्छ
नामै ले बोलाइन्छ नामैले चिनिन्छ
नामका अगाडि फूर्का हालिएका विशेषण
भए पनि के नभए पनि के ?

किस्ने
परिचय नभएको मान्छे होइन
बोलाउनको लागि नाम छ किस्नेसँग
चिनिनको लागि नाम छ किस्नेसँग
किस्ने अर्थात् कृष्ण ....
टोलछिमेकको आलु
जन्तीको लर्को मलामिको ताँती
किस्ने सँधै बाँडियो
किस्ने भएर
किस्ने सँधै भित्रियो
किस्ने भएर
किस्नेको पानी चोखो
किस्नेको दूध चोखो
किस्ने कहिल्यै कतै बारिएन
किस्ने कहिल्यै कहींकतै लखेटिएन
युगौँपछि चौबाटोमा
आज किस्ने लाचार उभिएको छ
किस्नेको इतिहास खोतलिँदै छ
पुर्खाको थाँतथलो खोजिदै छ
किस्नेसँग परिचय मागिदै छ
परिचय दिनसके
बल्ल किस्ने गनिनेछ
एक भोट
किस्ने अर्थात् एक भोट ...||

No comments: