महाभूकम्प विशेषाङ्कको रूपमा शब्दाङ्कुरको साउन अङ्क २०७२ {१६६ }मा प्रकाशित
कविता
"आमाको पुकार "
दुई हात जोडेर घुँडा धसी
आँखा चिम्लेर मैले ध्यानमा
जब ईश्वर सम्झन खोजेँ
त्यहाँ कुनै आकृति झुल्किएन
त्यहाँ कुनै बिम्ब देखिएनन्
देखिए त केवल
मेरा शिशुहरुका अबोध अधरहरु
मेरा शिशुका निश्छल आँखाहरू
यिनैको रक्षार्थ
म घण्टौं बसिरहे
उही मुद्रामा
यहाँ यो हृदयमा के सल्केको
आगो या पिर ?
दुवैको जलन उस्तै उस्तै
भक्ष अभक्ष नभन्ने आगो
कोमल कठोर हृदय नछुट्याउने पिर
रातोदिन सताइ रहन्छ
त्यहाँ भन्दा बढी कम्प
हृदयमा गइरहेको छ
हतासी, उदासी, असमर्थता
हार मान्नलाई उत्प्रेरित गर्छन्
म फेरि काँपेर आँखा चिम्लन्छु
आशा आएर कानमा फुस्फुसाइदिन्छ
धैर्य राख धैर्य राख
छैन
दूर्वल छैन
थाहा छ
आत्महत्या
अस्थाइ समस्याको
स्थाई समाधान मात्र हो
म भित्रकोे दूर्वलताको उपचार
म भित्रै छ
आफूभित्रको शक्तिमा विश्वास छ
करुणाको कुनै भाषा छैन
करुणाको कुनै शब्द छैन
करुणा बधिर सुन्न सक्छ
करुणा दृष्टिविहिन देख्न सक्छ
तेरो अस्तित्व सहर्ष स्वीकार
तँ देख्न सक्छस् तँ सुन्न सक्छस्
आमाको उपासना आमाको पुकार
हे भगवान् मलाई धैर्य दे
हे भगवान् धैर्य अहिल्यै दे ||