Share Bottom

Friday, April 10, 2015

प्रश्न

रात पर्छ
भोलिको शुभ बिहानीको कामना गर्दै
निदाउछु
शुभ भयो भएन
थाहै नपाई फेरी रात पर्छ
क्रमेण क्रमेण
यस्ता रात र दिनहरु
आउदै जादै गर्छन
रात र दिनहरुको प्रतिश्पर्धामा

हारिरहेको छु या जितिरहेको छु
प्रश्न सधै प्रतिप्रश्न भै अल्झिन्छन ||

सिघ्र प्रकाशित हुँदैछ !


कविता -- यात्रा


प्रश्न उसको थियो
यात्रा मेरो थियो
हिँडनु मलाई थियो
यात्रा मेरो थियो
बिचार ऊ गर्दै थियो

जानै पर्ने !
अरू गएर म पुग्दिन !
बाटो लामो छ !
बाटो पो, लक्ष नजरमा छ
जुत्ता !
हिडने खुट्टाले हो
एक्लै यात्रा !
हो, बोझ र सुर आफ्नै हुन्छ
कति दिन ?
बिस्तारै, म पुग्छु
अहो !
अहिले होइन्, पुगेको समाचार सुन्नु
अनि
पाइला बढेपछि
बाटो आफै अगाडि हिँडिदियो
म डोर्याइएँ मात्र
डाँडाको टुप्पामा
ठण्डा बतास आएर
पसिना माग्यो
दिएर झर्न थाले
ओरालोमा
घंगारुको घारो फालिएको भेटेँ
उठाएर सुम्सुमाए
काँडाहरु झरे
कहिले घाम कहिले जुन
साथी भएर
मेरो घारो र मसँगै हिडे
घारो
अहिले मसँगै
ठाउँमा पुग्दैछ ||

Saturday, April 5, 2014

"दाई" !

लघु कथा !
..
November 29, 2010 at 10:57pm
आज भोलि दाईलाई गाउँ गनाउन थालेको छ
गाउले हरु मुर्ख हुन्छन भन्नु हुन्छ ,
दाजुले आज भोलि राजनीतिक र साहित्यिक  लेखहरु लेख्न थालेका छन् |
गाउँको राजनीतिलाई खत्तम  भन्छन ,किन कि दाजु आज भोलि जिल्ला स्तरीय राजनीतिमा ब्यस्त छन् |  नारी साँप  हो बिषालु साँप  भन्नु हुन्छ किन कि  दाजुले धेरै गाउँका धेरै दिदि बहिनीलाई आफ्नो शिकार बनाउनु भएको थियो पोहर साल मात्र भुन्टीले बतासे छोरा जन्माइन  रे दाजुको घरमा भात भान्छा गर्न बसेकी थिइन  दाई जन कारबाही मा पर्नु भएको  छ रे | 

Tuesday, March 25, 2014

किन रोई रहेछिन जननी

नाकैभरि 
केहि मग्मगाएको छ
अस्तित्वैभरि
केहि गम्किएको छ
म सुँङ्घछु
भित्र कतै आफैलाई
अहँ !
त्यहाँ म
केहि ठोस पनि छुइन
त्यहाँ म
केहि तरल पनि छुइन
फेरि यो लहराउँदै चलेको वासना के को ?
फेरि यो फैलिरहेको सुगन्ध के को ?
मन किन भौँतारिरहेछ ?
किन यो तृष्णा फैलिरहेछ ?

एका बिहानै शुष्क पवनले
नमी सोसेर तातो सास फेर्छ
म आँखाभरि तृष्णा बटुलेर
क्षितिज देखि क्षितिज सम्म फैलिएको
उजाड उराठ धरातल हेर्छु
बालुवा बाट निस्किएका
ताता बाफ हेर्छु
दृष्टिभ्रमले पनि
कतै कुनै फूल देख्दिन
बालुवाको सरोवरमा कुमुद फुल्दैन
मरुभूमिका छातीमा फूल फुल्दैनन्
बिना फूलका यी शुष्कतामा
फेरि यो लहराउँदै चलेको वासना के को ?
फेरि यो फैलिरहेको सुगन्ध के को ?
मन किन भौँतारिरहेछ ?
किन यो तृष्णा फैलिरहेछ ?

कोठामा टाँगिएको भित्तेपात्रोले
सयौँ पाना पल्टाईसकेकोछ
अनगिन्ति ऋतुहरु
दोहराइसकेको छ
हरेक बर्षातमा म कैयौँ पटक भिजेको छु
हरेक हिउँदमा म धेरै पटक नाङ्गिएको छु
प्रेतक शरदमा म फेरि पलाएको पनि छु
र पनि
चेतनामा कुनै फेरबदल छैन
अस्तित्वमा कुनै बदलाव छैन
स्वादमाकुनै परिवर्तन छैन
चहनामा कुनै परिष्कार छैन
फेरि यो लहराउँदै चलेको वासना
फेरि यो फैलिरहेको सुगन्ध
किन मनलाई व्याकुल बनाउँछ
किन अन्तरात्मा भौँतारिन्छ ?
किन यो तृष्णा फैलिरहन्छ ?

मन मारेर परदेशमा
म आफैमा गुजिल्टिन्छु
फेरि उहि सुगन्ध आउँछ
फेरि उहि म वासना महकिन्छ
कोट्याएर आफैलाई चाख्छु
रगडेर आफैलाई सुङ्छु
म नै मगमगाएको रहेछु
म नै गम्किएको रहेछु
म अर्थात माटो
म अर्थात मेरो देश
परदेशमा
देश गम्कदो रहेछ
परदेशमा
माटो मग्मगाउँदो रहेछ
नाभिबाट बिना छुट्टिएपछि
कस्तुरी भटकाईले बुझायो
किन रोइरहेछिन जननी ?